विदेशबाट आएकाहरूले १४ दिन क्वारेन्टाइनमा बस्नै पर्छः अध्यक्ष सुनुवार



१८ चैत्र, रामेछाप ।
उमाकुण्ड गाउँपालिकाका अध्यक्ष शेर बहादुर सुनुवारले विदेशबाट गाउँपालिकाभित्र आएका व्यक्तिहरुले अनिवार्य रुपमा १४ दिन क्वारेन्टाइनमा बस्नु पर्ने बताउनुभएको छ । उहाँले क्वारेन्टाइनमा बस्द गर्नुपर्ने सम्पूर्ण व्यवस्थापनको काम गाउँपालिकाले गर्ने बताउनुभएको हो ।
सम्भावित कोरोना भाइरसको संक्रमण गाउँपालिकाभित्र भित्रिन नदिन गाउँपालिकासँग भएको स्रोत र साधनलाई अधिकतम प्रयोग गरेको बताउदै अध्यक्ष सुनुवारले कोरोना रोकथामको लागि आवश्यक योजना बनाएर कार्यान्वनमा लागेको बताउनुभयो । उमाकुण्ड गाउँपालिका–२ बाम्तिभण्डारमा रहेको सिद्धेश्वर माविमा २५ वेड र वडा नं ४ प्रितिमा १८ वेडको क्वारेन्टाईन निर्माण गरिसकेको बताउदै अध्यक्ष सुनुवारले भन्नुभयो,‘सबै वडाहरुमा ५ वेडको क्वारेन्टाईन स्थापना भैसकेको छ, आवश्यकताको आधारमा अझै थप्दै जान्छौ ।’

उमाकुण्ड गाउँपालिकामा १ प्राथमिक स्वास्थ्य केन्द्र, ५ ओटा स्वास्थ्य चौकी र २ ओटा सामुदायिक स्वास्थ्य ईकाइमा हेल्थ डेस्कको स्थापना गरि सेवा प्रवाह गरिरहेको उहाँले जानकारी दिनुभयो । पर्याप्त सुरक्षा सामग्रीहरु सम्वन्धित स्वास्थ्य संस्थाहरुमा व्यवस्थापन गर्न गाउँपालिका लागिरहेको छ, उहाँले भन्नुभयो ।

भाईरस संक्रमण रोक्नको लागि नागरिक सम्म पहुँच पुर्याउने गरि मास्क, पन्जा, सेनिटाइजर लगायतको सामग्रीहरु वितरण गर्ने कार्यलाई अगाडी बढाईएको उहाँले जानकारी दिनुभयो । अध्यक्ष सुनुवारले विदेशबाट आउनुहुने सवैले आफुलाई पायक पर्ने क्वारेन्टाईनमा १४ दिन सम्म बसेर सहयोग गरिदिन आग्रह गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्