लकडाउन थप कडा गर्ने मन्त्रीपरिषद्को निर्णय



२२ चैत्र काठमाडौं । सरकारले कोरोना भाइरसको रोकथाम र नियन्त्रणका लागि हाल लगाइरहेको लकडाउन थप कडा बनाउने निर्णय गरेको छ ।कोरोना भाइरस समुदायमा फैलन थालेको निस्कर्षसहित सरकारलाई लकडाउन कडा पार्ने निर्णय गरेको हो ।

शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले संक्रमण नयाँ चरणमा प्रवेश गरेको निस्कर्षसहित लकडाउन कडा पार्ने निर्णय गरेको सञ्चारमन्त्री डा. युवराज खतिवडाले जानकारी दिनुभयो । उहाँअनुसार स्थानीय स्तरमा कोरोना देखिएका बागलुङ, कैलाली र कञ्चनपुरमा बाहिरबाट आएका र उनीहरुको सम्पर्कमा रहेका व्यक्तिहरुको स्वास्थ्य परीक्षण तीव्र बनाउने निर्णय पनि मन्त्रिपरिषदले गरेको छ ।

हालसम्मको लकडाउन सफल भएको निस्कर्ष पनि सरकारको छ । ११ गते पहिलोपटक लगाइएको लकडाउन १८ चैतपछि दोश्रोपटक थप भएको थियो । उक्त अवधि २५ चैतमा सकिँदैछ । लकडाउन थप्ने विषयमा सरकारले पुनः निर्णय गर्ने उहाँले जानकारी दिनुभयो ।

थप तीन जना कोरोनाभाइरसबाट सङ्क्रमित भेटिएको पुष्टि भएपछि सरकारले देशव्यापी रूपमा आवागमनमा लगाएको प्रतिबन्ध अझ प्रभावकारी बनाउने र विदेशबाट फर्किएका तथा क्वारन्टीनमा रहेका व्यक्तिहरूमा व्यापक रूपमा परीक्षण गर्ने निर्णय गरेको छ।

नेपालभित्रै सङ्क्रमण सरेको पहिलो घटना पुष्टि भएपछि तथा भारतबाट फर्किएका अन्य दुई व्यक्तिमा सङ्क्रमण भेटिएपछि मन्त्रिपरिषद्को बैठक शनिवार अपराह्ण बसेको थियो। कैलाली, कञ्चनपुर र बागलुङ जिल्लामा क्वारन्टीनमा राखिएका व्यक्तिहरू तथा विदेशबाट फर्किएका व्यक्तिहरूको परीक्षणमा तीव्रता दिने निर्णय मन्त्रिपरिषद्ले गरेको छ।

प्रतिक्रिया दिनुहोस्