अनुमति विना स्वास्थ्य सामाग्री वितरण नगर्न रामेछापका आठ वटै स्थानीय तहको निर्देशन



२३ चैत्र, रामेछाप ।
रामेछापका आठ वटै स्थानीय तहले स्थानीय सरकारको अनुमति बिना कुनै पनि स्वास्थ्य सामाग्री र राहत वितरण गर्न नपाइने निर्णय गरेका छन् । संघ संस्था र व्यक्तिहरुले आफूखुसी स्वास्थ्य सामाग्री वितरण गर्दा कोरोना भाइरसको जोखिम हुने भएकाले स्थानीय सरकारले एकद्धार नीति लिएको हो ।
सुनापती गाउँपालिकाका अध्यक्ष धामा लामाले अनुमति लिएर मात्र स्वास्थ्य सामाग्री वितरण गर्न पाइने बताउनुभयो । उहाँले भन्नुभयो,‘विपतको बेला सहयोग गर्नु राम्रो हो, तर खरिद गरेर ल्याएको सामाग्रीको रेकर्ड गाउँपालिकामा अनिवार्य राखेर गाउँपालिकाले नै वितरण गर्छ ।’
दोरम्बा गाउँपालिकाका अध्यक्ष कमानसिंह मोक्तानले लकडाउनलाई प्रभावकारी बनाउनको लागि जथाभावी रुपमा स्वास्थ्य सामाग्री र राहत वितरण गर्न नपाइने बताउनुभयो । उहाँले रामेछाप न्युजसँग भन्नुभयो,‘इच्छुक संघ संस्था र व्यक्तिले गाउँपालिकासँग अनिवार्य रुपमा अनुमति लिनुपर्छ ।’

खाँडादेवी गाउँपालिकाले पनि आफूखुसी राहत सामाग्री र स्वास्थ्य सामाग्री वितरण गर्न रोक लगाएको छ । खाँडादेवी गाउँपालिकाका अध्यक्ष प्रेम बहादुर तामाङले स्वास्थ्य सामाग्री वितरणलाई भन्दा आफूहरुले विदेशबाट आएका व्यक्ति र उक्त व्यक्तिको परिवारलाई क्वारेन्टाइनमा राख्ने कामलाई प्राथमिकता दिएको रामेछाप न्युजलाई बताउनुभयो ।

मन्थली नगरपालिकाका नगरप्रमुख रमेश बस्नेतले नगरपालिकाभित्र सम्भावित कोरोना भाइरसको संक्रमण फैलिन नदिन सुरक्षा शतर्कता अपनाएको बताउनुभयो । उहाँले रामेछाप न्युजसँग भन्नुभयो,‘आवश्यक स्वास्थ्य सामाग्री नगरपालिकाले नै खरिद गरेर सम्बन्धित स्वास्थ्य केन्द्रसम्म पु¥याएका छौ, सहयोग गर्ने दातालाई हामी सम्मान गछौ, तर आफूखुसी राहत वितरण गर्न पाइदैन ।’

रामेछाप नगरपालिकाका नगरप्रमुख नरबहादुर थापा मगरले नगरपालिकाको अनुमति विना कुनै पनि राहत र स्वास्थ्य सामाग्री वितरण गर्न नपाइने बताउनुभयो । उहाँले रामेछाप न्युजसँग भन्नुभयो,‘हामी उपचार कोष खडा गरेका छौ, इच्छुक सहयागी दाताहरुले सहयोग गर्न सक्नुहुनेछ, राहत र स्वास्थ्य सामाग्री वितरणमा नगरपालिकाको अनिवार्य अनुमति लिनुपर्छ ।’ उहाँले तरुण दलले पनि नगरपालिकासँग अनुमति लिएर पिपिइ वितरण गरेको जानकारी दिनुभयो ।

गोकुलगंगा गाउँपालिकाका अध्यक्ष खड्ग बहादुर सुनुवारले गाउँपालिकाको अनुमति बिना आफूखुसी राहत र स्वास्थ्य सामाग्री वितरण गर्न नपाउने निर्णय गरेको रामेछाप न्युजलाई बताउनुभयो । त्यसैगरी उमाकुण्ड गाउँपालिकाका अध्यक्ष शेर बहादुर सुनुवार अनुमति विना कसैलाई पनि राहत र स्वास्थ्य समाग्री वितरण गर्न नपाइने कार्यपालिकाले निर्णय गरेको रामेछाप न्युजलाई जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्