एम्बुलेन्समा नक्कली बिरामी पक्राउ प्रकरणः वडाअध्यक्ष र चालकले स्वीकारे गल्ती



२४ चैत्र, रामेछाप ।
काठमाडौंबाट गोकुलगंगा गाउँपालिका–६ फर्पुतर्फ जाने क्रममा नक्कली बिरामी बनाई यात्रु बोक्ने एम्बुलेन्स प्रहरीेले पक्राउ गरेपछि एम्बुलेन्स चालक र वडा अध्यक्षले गल्ती गरेको स्वीकार गरेका छन् । एम्बुलेन्स चालक बुद्ध तामाङ र वडा अध्यक्ष चन्द्र बहादुर सुनुवारले जिल्ला प्रशासन कार्यालय रामेछाप समक्ष स्वीकार गरेका हुन् ।
एम्बुलेन्स सहित चालक पक्राउ गरेर जिल्ला प्रहरी कार्यालय रामेछापले वडा अध्यक्ष सुनुवार र चालकसँग सोधपुछ गरेको थियो । सोधपुछकोे क्रममा चालक र वडाअध्यक्षले गल्ती गरेको स्वीकार गरेपछि चालकलाई तारेखमा रिहा गरेको छ ।

रामेछापका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले चालक र वडाअध्यक्षले यात्रु बोक्नु गल्ती भएको स्वीकार गरेपछि अहिलेको अवस्था हेरेर चालकलाई तारेखमा रिहा गरेको रामेछाप न्युजलाई बताउनुभयो । उहाँले रामेछाप न्युजसँग भन्नुभयो,‘यस्तो अवस्थामा नक्कली बिरामी बनाएर यात्रु बोक्ने काम निकै ठूलो गल्ती हो, वडा अध्यक्षले बिरामी लिन काठमाडौं पठाएपछि गएको चालक तामाङले स्वीकारेका छन् ।’

प्रहरीले सेलेघाट नाकामा शंका लागेर चेकजाँच गर्ने क्रममा सोमवार राती नक्कली बिरामी बनाई यात्रु बोेकेको रहस्य खुलेपछि प्रहरीले एम्बुलेन्स सहित चालकलाई पक्राउ गरेको थियो । चालकले प्रहरी समक्ष वडाअध्यक्ष सुनुवारले बिरामी लिएर आउन भनेर पठाएपछि काठमाडौंबाट कोठामा बस्ने मानिसहरुलाई लिएर आएको स्वीकार गरेको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख बसन्त पाठकले रामेछाप न्युजलाई बताउनुभयो । एम्बुलेन्समा नक्कली बिरामी बनाएर छ जना यात्रु ल्याइएको थियो ।

जिल्ला प्रशासन कार्यालयमा गल्ती स्वीकार गरेका वडा अध्यक्ष चन्द्र बहादुर सुनुवारले पनि आफ्नो फेसबुक स्टाटसमा लेखेका छन–यदी एम्बुलेन्समा प्यासेन्जर बोकेर मैले भाडा तिरेको हुँ भनेर मेरो सामु बालेरे प्रमाणित गर्न सक्छ भने म आजै वडा अध्यक्षबाट राजिनामा दिन तयार छु ।’

एम्बुलेन्स पक्राउ गरेपछि वडा अध्यक्ष सुनुवारले यात्रु बोक्नु गल्ती भएको भन्दै मिलाइदिन भन्दै आग्रह गरेको जिल्ला प्रहरी कार्यालय रामेछापले बताएको छ । केही दिनयता एम्बुलेन्सहरुले पैसा लिएर यात्रु बोक्ने गरेको रिपोर्ट जिल्ला प्रहरी कार्यालय र जिल्ला प्रशासन कार्यालयमा परेको थियो । प्रजिअ शर्माले एम्बुलेन्स चालक, वडा अध्यक्ष सुनुवार र एम्बुलेन्समा सवार यात्रुमाथि थप अनुसन्धान प्रक्रिया अगाडि बढाइएको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्