अलपत्र यात्रुको उद्धार गरिएको हो, भाडा लिएर यात्रु बोकेको छैनः वडाअध्यक्ष सुनुवार



२५ चैत्र, रामेछाप ।
गोकुलगंगा गाउँपालिका–६ फर्पुका वडाअध्यक्ष चन्द्र बहादुर सुनुवारले वडा कार्यालयबाट सञ्चालित एम्बुलेन्सले भाडा लिएर यात्रु बोकेको नभई काठमाडौमा अलपत्र परेका नागरिहरुलाई उद्धार गरेको बताउनुभएको छ । उहाँले नक्कली बिरामी बनाई यात्रुसँग पैसा लिएको प्रमाणित भए आफू वडा अध्यक्षबाट राजिनामा दिने तयार रहेको बताउनुभएको हो ।
नक्कली बिरामी बनाई यात्रु बोकेको अभियोगमा एम्बुलेन्स चालक पक्राउ गरेको समाचारप्रति आपत्ति जनाउदै वडा अध्यक्ष सुनुवारले समाचारप्रति वडा कार्यालयको ध्यानाकर्षण भएको बताउनुभएको छ
फर्पु वडा कार्यालयले विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको महामारी नियन्त्रणका लागि सरकारले लागू गरेको लकडाउनको समयमा चालक तामाङले नक्कली बिरामी नभई काठमाडौंमा अस्पतालले डिस्चार्ज गरि अलपत्र परेका बिरामीलाई उद्धार गरेर ल्याएको दावी गरेको छ ।
एम्बुलेन्समा बिरामीको कुरुवा र आफन्त जसको काठमाडौंमा वैकल्पिक वास समेत नभएकोले एम्बुलेन्समा यात्रुको संख्या बढी भएकोले प्रहरीले केही समय रोकी अनुसन्धान गरी तथ्य पत्ता लगाई छोडेको उल्लेख गरिएको छ । वडा कार्यालयले अहिलेको संकटको समयमा जनतामा सन्त्रास छाऊने भ्रमपुर्ण समाचार सम्प्रेषण नगर्न समेत आग्रह गरेको छ ।
जिल्ला प्रहरी कार्यालय रामेछापले नक्कली बिरामी बनाई यात्रु बोकेको भन्दै आइतवार राती मन्थलीबाट प्रदेश ३–०१–०२२ च २१६३ नम्बरको एम्बुलेन्सलाई नियन्त्रणमा लिएको थियो । सोमवार रामेछापका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले एम्बुलेन्स चालक र वडा अध्यक्ष सुनुवारसँग सोधपुछपछि एम्बुलेन्स चालक बुद्ध तामाङलाई तारेखमा रिहा गर्नुभएको थियो ।

वडा अध्यक्ष सुनुवारले पूर्ण बहादुर तामाङ कान्छाराले निुशल्क रुपमा वडा कार्यालयलाई उपलब्ध गराएको एम्बुलेन्सले लकडाउनको समयभरी कुनै बिरामीसँग पैसा नदिएको बताउदै निशुल्क सेवाका लागि अझै तत्पर रहेको बताउनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्