वीरगञ्ज बसेका ३ जना भारतीय नागरिकमा कोरोना संक्रमण पुष्टि



३० चैत्र, वीरगन्ज ।
पर्साको वीरगञ्जमा तीन जना भारतीय नागरिकमा कोरोना संक्रमण पुष्टि भएको छ । टेकुमा उनीहरुको नमुना परीक्षण गर्दा कोरोना संक्रमण पोजेटिभ देखिएको हो ।तर यसको औपचारिक जानकारी भने आज आयोजित पत्रकार सम्मेलनमा स्वास्थ्य मंत्रालयले दिने तयारी रहेको छ । वीरगञ्जबाट नमुना संकलन गरी हेटौंडास्थित प्रयोगशालामा परीक्षण गर्दा उनीहरुको रिपोर्ट पोजेटिभ आएको थियो । त्यसपछि पुनः जाँचका लागि राष्ट्रिय प्रयोगशालामा पठाइएको थियो ।
भारतबाट आएका २४ जनासहित ३३ जनाको नमुना संकलन गरी गत बिहीबार परीक्षणका लागि हेटौंडा प्रयोगशाला पठाइएको थियो । जसमध्ये तीन जनाको प्रारम्भिक रिपोर्ट मिश्रित खालको आएको र पुनः परीक्षणका लागि टेकु पठाइएको हेटौंडा स्थित प्रयोगशालाका प्रमुख नारायण कार्कीले जानकारी दिनुभयो । हेटौंडाको प्रयोगशालाले त्यो जानकारी नारायणी अस्पताललाई पनि गराएको थियो । त्यसलगत्तै वीरगञ्ज–२ छपकैया स्थित जामे मस्जिदमा बस्दै आएका उनीहरुलाई शुक्रबार नै नारायणी अस्पतालको आइसोलेसनमा राखिएको छ ।संक्रमण पुष्टि भएकामध्ये २ जना उत्तरप्रदेश र एक जना दिल्लीमा बस्दै आएका थिए ।
उनीहरु १३ दिनदेखि वीरगञ्ज–२ छपकैयास्थित जामे मस्जिदमा आएको स्थानीयले बताएका छन् । सप्तरीमा आयोजित मुस्लिम धार्मिक सभामा सहभागी हुन आएका उनीहरु त्यही बेलादेखि भारत फर्केका छैनन् । मार्च ४ तारिकमा रिटर्न ट्रेन टिकेट भए पनि लकडाउनका कारण उनीहरु रोकिएका थिए ।लकडाउन खुलेपछि घर फर्कन भनी उनीहरुले १५ अप्रिलका लागि टिकट काटेका छन् ।
घर फर्कनुअघि एकपटक स्वास्थ्य जाँच गराउनु उपयुक्त सम्झेर उनीहरु आफैं नारायणी अस्पतालमा पुगेको मस्जिदका मौलाना अलि असगरले बताउनुभयो । त्यसपछि अस्पतालमा जाँच भएको तर रिपोर्ट आइनसकेको जानकारी आफूले पाएको बताउनुभएको छ । उनीहरु बाराको सीमा नाका हुदै वीरगन्ज छिकेका थिए । उनीहरुका कारण वीरगन्जमा अहिले संत्रास फैलिएको छ यद्यपी उनीहरु मस्जिद बाहिर नगएपनि मस्जिमा अरु गएको र जसका कारण कोरोना अरुलाई पनि सरेको हुन सक्ने अनुमान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्