रामेछापकाे ८ वटै स्थानीय तहलाई कांग्रेसको सहयोग



१ वैशाक, काठमाडौं ।
विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको रोकथाम र नियन्त्रण गर्नको लागि नेपाली कांग्रेस रामेछाप–काठमाडौं सम्पर्क समितिले रामेछापका ८ वटै स्थानीय तहका लागि स्वास्थ्य सामाग्री सहयोग गरेको छ । कोरोना भाइरस रोकथामका लागि खटिएका स्वास्थ्यकर्मीहरुको लागि स्वास्थ्य सामाग्रीको अभाव नहोस भनेर समितिले सहयोग गरेको हो ।
रामेछाप–काठमाडौं सम्पर्क समितिका सभापति राजनारायण श्रेष्ठले ९० थान व्यक्तिगत सुरक्षा उपकरण पर्सनल प्रोटेक्शन इक्वीपमेन्ट(पीपीई) र ४ सय थान सर्जिकल मास्क पठाइएको रामेछाप न्युजलाई जानकारी दिनुभयो ।
रामेछापबाट काठमाडौंमा रहेर विभिन्न पेशा र व्यवसाय गरिरहेका साथीहरू तथा सम्पर्क समितिका पदाधिकारीहरूको सहयोगमा स्वास्थ्य सामाग्री पठाइएको श्रेष्ठले बताउनुभयो ।
नेविसंघका निवर्तमान केन्द्रिय सदस्य रत्नहरी ढुङ्गेलले मन्थली नगरपालिकामा २० थान पीपीई ५० थान माक्स रामेछाप नगरपालिकामा १४ थान पीपीई ५० थान माक्स, खाँडादेवी गाउँपालिकामा ११ थान पीपीई, ५० थान माक्स र सुनापाती गाउँपालिकामा ९ थान पीपीई र ५० थान सर्जिकल माक्स पठाइएको बताउनुभयो । ढुंगेलका अनुसार दोरम्बा गाउँपालिकामा ९ थान पीपीई, ५० थान माक्स, गोकुलगंगा गाउँपालिकामा ९ थान पीपीई ५० थान माक्स, लिखुतामाकोशी गाउँपालिकामा ९ थान पीपीई, ५० थान माक्स र उमाकुण्ड गाउँपालिकाको लागि ९ थान पीपीई ५० गान सर्जिकल माक्स पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस्