काठमाडौमा अलपत्र परेका नागरिकलाई सुनापती गाउँपालिकाले निशुल्क उद्धार गर्ने



७ वैशाक, रामेछाप ।
लकडाउनको कारण काठमाडौं उपत्यकामा अलपत्र परेका सुनापती गाउँपालिकाका बासिन्दालाई सुनापती गाउँपालिकाले निशुल्क रुपमा गाउँसम्म ल्याउने भएको छ । लकडाउनले गर्दा काठमाडौंमा खान बस्न समस्या भएको बताउदै गाउँपालिकाले अलपत्र परेका नागरिकहरुलाई सम्पर्क गर्न आग्रह गरेको हो ।
सुनापती गाउँपालिकाका अध्यक्ष धावा लामाले काठमाडौंमा अलपत्र अवस्था रहेका नागरिकहरुलाई ल्याउन काम अगाडि बढाइएको बताउनुभयो । उहाँले रामेछाप न्युजसँग भन्नुभयो,‘प्रशासनसँग समन्वय गरेर गाउँ आउन चाहनेहरुको तथ्याङक संकलनको काम अगाडि बढाएका छौ, गाउँमा आएपछि अनिवार्य रुपमा होम क्वारेन्टाइनमा बस्नु पर्छ ।’

गाडीमा सिट क्षमता भन्दा यात्रु नल्याउने बताउदै अध्यक्ष लामाले गाउँ फर्किन चाहनेहरुलाई निशुल्क रुपमा ल्याउन लागेको बताउनुभयो ।
काठमाडौं उपत्यकामा रहेका सुनापतीका पाँच वटै वडाका बासिन्दाहरुको तथ्याकं संकलनको काम अगाडि बढाएको समन्वयको जिम्मेवारी नेकपा रामेछाप–काठमाडौं सम्पर्क मञ्चका अध्यक्ष ईलकसिंह तामाङले पाउनुभएको छ ।

उहाँले रामेछाप न्युजसँग भन्नुभयो,‘आज मात्रै चार सय जना गाउँ आउँनको लागि सम्पर्क गनुृभएको छ, यो संख्या अझै बढने देखिएको छ ।’ तामाङका अनुसार जिल्ला प्रशासन कार्यालयहरुसँग समन्वय गरेर गाउँ आउने लोकेसन तय हुनेछ । गाउँपालिकाले वैशाक पर्सी ९ गते सबैलाई एकसाथ गाडीमा लैजाने तयारी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्