रामेछापवासीले तत्काल घर फर्किन नपाउने, सवारी चलाउन मिल्दैनः प्रजिअ शर्मा



७ वैशाक, रामेछाप ।
लकडाउनमा काठमाडौं उपत्यकामा अलपत्र परेका बासिन्दाहरुलाई स्थानीय तहले निशुल्क रुपमा गाउँ फर्काउन घोषणा गरेपनि जिल्ला प्रशासन कार्यालय रामेछापले यातायात सञ्चालन हुन नसक्ने बताएको छ ।

सुनापती गाउँपालिका, लिखु तामाकोसी गाउँपालिका, रामेछाप नगरपालिकाले गाउँ फर्किन चाहने व्यक्तिहरुको तथ्याङक संकलन गरेको थियो । तर आज जिल्ला प्रशासन कार्यालय रामेछापमा बसेको बैठकले तत्काल यातायातको साधन चल्न नसक्ने भएकाले उक्त निर्णय कार्यान्वयन हुन नसक्ने निर्णय गरेको हो ।

रामेछापका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले तत्काल रामेछापवासीलाई जिल्ला ल्याउन सक्ने अवस्था नरहेको बताउनुभयो । उहाँले रामेछाप न्युजसँग भन्नुभयो,‘यातायात सञ्चालन गर्न दिने बारेमा हामीलाई कुनै पत्र प्राप्त भएको छैन, जो जहाँ छ, त्यहीँ व्यवस्थापन गर्ने सरकारको नीति छ, अहिले गाडी चल्न सम्भावना छैन् ।’
सरकारले थप निर्णय गरेको अवस्थामा सञ्चालन हुन सक्ने बताउदै प्रजिअ शर्माले लकडाउनलाई थप प्रभावकारी बनाउन आफूहरु लागि परेको बताउनुभयो । ‘आधिकारिक जानकारी बिना स्थानीय तहले अलपत्र परेका नागरिकहरुलाई ल्याउने कुरा गर्नु भएन’, उहाँले भन्नुभयो,‘अहिलेको अवस्थामा सबैले संयम र सतर्क भएर काम गर्नुपर्छ ।’ प्रजिअ शर्माले अत्यावश्य बाहेकका कुनै पनि सवारी साधन सञ्चालन नभएको अवस्थामा यात्रु ल्याउन पास दिने कुरा सम्भव नभएको जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्