अन्ततः उसले शहर छोड्यो



 प्रदिप लामा
मध्यरातमा कल्याङमल्याङ गर्दै
झिकिझिम्टाको कुम्लो बोक्दै
प्रचण्ड घाममा हिजो दिनभरी कुर्दा
साँझ राहतको एक गेडा चामल नपाए पछि
अन्ततः उसले शहर छोड्यो।
थिएन लालपुर्जा ,पानी र बिजुलीको बिल
थिएन सदस्यता कार्ड,थियो त भोको पेट
केटाकेटीले बा! भोक लाग्यो भन्दा
स्टोभ बल्न छाडे पछि
अन्ततः उसले शहर छोड्यो।
खै कस्ले खोस्यो उसको गाँस?
शायद पाक्नेछन् भोलि शहरको नामी मःमः
जर्मन शेफर्डलाइ मटन बिरियानी
केटाकेटीले जाउलो खान नपाए पछि
अन्ततः उसले शहर छोड्यो।
राजमार्गमा कमिलाको ताँती जस्तै देखें
यात्राको गन्तव्य एउटै,गाउने गीत एउटै
एक जना लक्का जवान धरिधरि रोएको देखें
हारको आशु थिएन शायद भोकको पनि
विभेदको आँशु देखें, अन्ततः उसले शहर छोड्यो।

प्रतिक्रिया दिनुहोस्