लकडाउन थप कडा पार्न गृहमन्त्रालयको निर्देशनः रामेछापमा पनि कडाई हुँदै



१५ वैशाक, काठमाडौं ।
गृह मन्त्रालयले लकडाउन’लाई थप कडा पार्न मातहतका निकायलाई निर्देशन दिएको छ । मन्त्रालयले सबै जिल्ला प्रशासन कार्यालयलाई आज परिपत्र गर्दै पासविनाका कुनै पनि सवारी साधन आवतजावतमा रोक लगाउन निर्देशन दिएको गृह मन्त्रालयले जनाएको छ ।

बीचबाटोमा पुगेका र विचल्लीमा परेका मजदूर र सर्वसाधारणलाई उद्धारका लागि साँझको समयमा केही दिन सवारी सञ्चालनमा अनौपचारिकरुपमा खुकुलो गराइएकाले अधिकांशको उद्धार भइसकेको गृहमन्त्रालयको बताएको छ । त्यसैले मन्त्रालयले आजदेखि पासविनाका सबै प्रकारका सवारी साधन सञ्चालनमा रोक लगाउन भनेको हो ।

हुलमूलका साथ सवारी साधनमा यात्रा गर्दा कोभिड– १९ सङ्क्रमण भएर थप जटिलता निम्त्याउनसक्ने खतरालाई ध्यानमा राखेर उक्त निर्देशन दिइएको मन्त्रालयले जनाएको छ ।अहिलेसम्म मुलुकमा ५२ जनामा कोभिड– १९ सङ्क्रमण पुष्टि भइसकेको छ । गृह मन्त्रालयको परिपत्रसँगै रामेछाप जिल्ला प्रशासन कार्यालयले पनि सवारी साधन सञ्चालनमा थप कडाई गरेको छ । जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख बसन्त पाठकले आजबाट सवारी पास नभएका यातायातको साधनलाई जिल्ला प्रवेश गर्न नदिने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्