रामेछाप जिल्लामा भाेलीबाट पुनः सार्वजनिक सवारी प्रवेशमा रोक



१५ वैशाक, रामेछाप ।
जिल्ला प्रशासन कार्यालय रामेछापले भाेलीदेखि अत्यावश्यक बाहेकका सवारी साधन प्रवेश गर्न रोक लगाउने निर्णय गरेको छ । लकडाउनलाई थप कडाई गर्ने गृहमन्त्रालयको निर्णय अनुसार जिप्रका रामेछापले अत्यावश्यक सवारी पास लिएका बाहेकका यात्रुवहाक सवारी साधनलाई रोक लगाउने निर्णय गरेको हो ।

जिल्ला प्रशासन कार्यालयबाट जारी भएको सवारी पास विना अत्यावश्यक सेवाका बाहेक कुनै पनि प्रकारका सवारी साधन चल्न नदिने निर्णय गरेको रामेछापका प्रमुख जिल्ला अधिकारी रुद्रदेवी शर्माले जानकारी दिनुभयो । उहाँले अत्यावश्यक काम परेका सोको पुष्टयाइ हुने कागजात र सम्बन्धित निकायको सिफारिसको आधारमा यस कार्यालयबाट उपलब्ध गराइएको सवारी पासको आधारमा मात्र सवारी आवगमन गर्नुहुन आग्रह गर्नुभयो ।

एक सातादेखि सवारी पास विना नै रामेछापका आठ वटा स्थानीय तहको सक्रियतामा काठमाडौमा अलपत्र यात्रुहरुको उद्धार गर्ने क्रममा यात्रुवहाक सवारी साधन सञ्चालन भएका थिए । स्थानीय निकाय र प्रशासनको समन्वयमा अलपत्र नागरिकहरुको उद्धार गर्ने काम सम्पन्न भएको निष्कर्ष निकाल्दै गृह मन्त्रालयले लकडाउनलाई थप कडाई गर्ने निर्णय गरेको हो ।

एक साताको अवधिमा मात्र रामेछापमा करिब १० हजार भन्दा बढी नागरिकहरुको गाउँ आएको बताइएको छ । अब स्थानीय तहले बस रिर्जभ गरेर नागरिकहरु लैजान नपाउने भएका छन् । सरकारले आइतवार मात्र लकडान वैशाक २५ गतेसम्म लम्ब्याउने निर्णय गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्