उमाकुण्ड गाउँपालिकाको उदाहरणीय कामः दिर्घरोगीलाई घरघरमै निशुल्क औषधी



१६ वैशाक, रामेछाप ।
लकडाउनको कारण काठमाडौ उपत्यकामा अलपत्र परेका नागरिकहरुको निशुल्क उद्धार गरेको उमाकुण्ड गाउँपालिकाले फेरि जनताको मन जित्ने काम गरेको छ । गाउँपालिकाले नियमित रुपमा औषधी सेवन गर्दै आएका नागरिकहरुलाई लकडाउनको कारण औषधी सेवन गर्न असहज नहोस भनेर निशुल्क औषधी वितरण गरेको हो ।

उमाकुण्ड गाउँपालिकाका अध्यक्ष शेर बहादुर सुनुवारले आज गाउँपालिका–७ भुजीबाट नियमित रुपमा औषधी सेवन गर्दै आएका दिर्घरोगीहरुलाई औषधी वितरण गर्नुभयो । उहाँले नियमित रुपमा औषधी सेवन गर्न नपाएको अवस्थामा जीवन नै जोखिममा पर्ने अवस्था सृजना भएकाले गाउँपालिकाले निशुल्क औषधी वितरण गरेको बताउनुभयो ।

कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत ईश्वरी प्रसाद सुवेदी, स्वास्थ शाखा प्रमुख दिपेन्द्र कुमार पैकरा,व डा अध्यक्ष रुद्रमणि नेवार,गाउँपालिकाको कर्मचारी तथा स्वास्थ्यकर्मीहरुको सहभागीता रहेको थियो । भुजीमा वडाका ३३ जना बिरामीहरुले निुशल्क रुपमा औषधी पाएपछि खुसी भएका छन् । गाउँपालिकाले सात वटै वडाभित्रका बिरामीको तथ्याङक संकलन गरेर सबै वडामा औषधी वितरण गर्ने अध्यक्ष सुनुवारले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्