भिरपानी वडावासीको उदाहरणीय कामः एक महिनामा १६ लाख कोषमा संकलन



१९ वैशाख, काठमाडौं ।
कोरोना भाइरसको सम्भावित संक्रमण फैलिन नदिन एक महिना अघि सरकारले लकडाउनको घोषणा गरेसँगै बिहान बेलुका ज्याला मजदुरी गरेर जीविका चलाउदै आएका मजदुरहरु समस्यामा पर्न थाले । लगत्तै खाँडादेवी गाउँपालिका–३ भिरपानी वडा कार्यालयले र वडाका राजनीतिक नेतृत्व र वडावासीले निष्कर्ष निकाले–वडाभित्रका कोही पनि भोकै पर्न नदिने ।

सुरुमा १५ जना व्यक्तिहरुले खाद्यन सामाग्री वितरण गर्ने योजना अनुसार सुरु भएको अभियान वडावासीकै चाहनामा संस्थागत रुपमा अगाडि बढाउने निर्णय भयो । वडा कार्यालयले प्राप्त सहयोगलाई पारदर्शी बढाउन वडा कार्यालयकै खाता सञ्चालनमा ल्यायो । एक महिनाको अवधिमा वडावासीहरुको चासोकै कारण १६ लाख रुपैयाँ कोषमा जम्मा भएको छ ।

भिरपानी वडावासी राजनीतिक नेतृत्व, उद्यमी,ब्यवसायी, वैदेशिक रोजगारीमा रहेकाहरुसँग साथ र सहयोगकै कारण भिरपानी वडाले रामेछाप जिल्लामै नमूना काम गरेर देखाउन सफल भएको छ । कोरोना विरुद्ध वडावासी एकताबद्ध भएर जुटनु पर्ने मुल मर्म सहित सुरु भएको अभियानमा नेकपा खाँडादेवी गाउँ कमिटीका अध्यक्ष ज्ञान कुमार श्रेष्ठ, व्यवसायी शम्भु कुमार श्रेष्ठ, प्रवल कार्की,दिपक पौडेल,वडाअध्यक्ष पुस्कर कुमार कार्की,र वडासदस्य भिम श्रेष्ठको नेतृत्वमा आज भिरपानी वडावासीले दिल खोलेरै सहयोग गरेका छन् ।

प्रविधिको प्रयोग गर्दै वडावासीलाई एकताबद्ध बनाउन नियमित रुपमा भिडियो कन्फरेन्सको कारण उद्धार कोषमा सहयोग जम्मा गर्न सहज भएको वडा सदस्य भिम श्रेष्ठ बताउनुहुन्छ । भिडियो कन्फरेन्स भएकै दिन शम्भु श्रेष्ठले कोषमा ५१ हजार जम्मा गर्ने घोषणा गरेसँगै सहयोग गर्ने अभियान अगाडि बढेको थियो । श्रेष्ठ भन्छन–‘१५ जना जति व्यक्ति मिलेर अलपत्र परेका व्यक्तिहरुलाई तीन सय बोरा चामल वितरण गर्ने योजना थियो, वडावासीको साथ सहयोग र सक्रियताले हामीले विपद उद्धार कोष नै स्थापना गर्न सफल भयौ ।’

कोरोनाको कारण वडावासीलाई आपद विपद पर्दा भोलीका दिनमा पनि सहयोग गर्ने संस्थागत कोष स्थापना गर्न सफल हुन वडाको लागि खुसीको विषय भएको बताउदै वडा अध्यक्ष पुष्करकुमार कार्कीले भन्नुभयो,‘कोषमा जम्मा भएको रकमबाट वडावासीलाई अपठ्यारो पर्दा सहयोग गछौं ।’ हामीले वडावासीलाई गरेको आग्रह सहज रुपमा स्वीकार गरेर वडाप्रति देखाएको विश्वासलाई कामय राख्ने प्रतिबद्धता व्यक्त गर्दै उहाँले सहयोग गर्ने सबै जना दाताहरु यो अभियानको सदस्य रहने बताउनुभयो ।

सहयोग आफ्नो इच्छाले दिने विषय भएको बताउदै आगामी दिनमा पनि कोषमा वडावासीले चाहेको अवस्थामा सहयोग गर्न सक्ने जानकारी दिनुभयो । कोषमा भिरपानी वडावासीले मात्र होइन छिमेकी वडाका व्यक्तिहरुले समेत सहयोग गर्नुभएको वडा सदस्य भिम श्रेष्ठले बताउनुभयो ।
नेकपा खाँडादेवी गाउँकमिटीका अध्यक्ष ज्ञान कुमार श्रेष्ठले पनि यो कार्यमा नेतृत्वदायि भूमिका निर्वाह गर्नुभएको छ । श्रेष्ठ भन्नुहुन्छ,‘एकले थुकी सुकी, सयौले थुकी नदी भन्छन, हामीले वडावासीको सहयोग र साथ लिएर अभियानको सुरु गरेका थियौ, अभियान निकै सफल भयो, वडावासी सबै धन्यवादका पात्र हुनुहुन्छ ।’

यी हुन विपद उद्धार कोषमा रकम सहयोग गर्ने दाताहरु (नामावलीसहित)

प्रतिक्रिया दिनुहोस्