देशभर हालसम्म ६४ हजार व्यक्तिमा कोरोना परीक्षण



२२ वैशाख, काठमाडौं ।
मुलुकभर हालसम्म पिसिआर र आरडिटी प्रविधिबाट गरी कूल ६४ हजार ४८५ व्यक्तिमा कोरोना भाइरस सङ्क्रमणको परीक्षण गरिएको छ । त्यसमध्ये पिसिआर प्रविधिबाट १३ हजार ६४० र आरडिटी प्रविधिबाट ५० हजार ८४५ जनामा कोरोना परीक्षण गरिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयमा आज आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा विकास देवकोटाले गत २४ घण्टामा मुलुकभर थप एक हजार ३८२ जनामा कोरोना परीक्षण गरिएको जानकारी दिनुभयो । आरडिटी प्रविधिबाट हालसम्म प्रदेश नं १ मा पाँच हजार ८३७, प्रदेश नं २ मा पाँच हजार ७३६, वाग्मती प्रदेशमा आठ हजार ६१०, गण्डकी प्रदेशमा पाँच हजार ८८२, प्रदेश नं ५ मा चार हजार ८३१, कर्णाली प्रदेशमा पाँच हजार ८१३ र सुदूरपश्चिम प्रदेशमा १४ हजार १३६ जनामा कोरोना परिक्षण गरिएको छ ।

मुलुकभर हाल जम्मा २१ हजार ५२३ जना क्वारेटाइनमा रहेका छन् भने आइसोलेशनमा रहेका सम्भावित सङ्क्रमित तथा बिरामीको सङ्ख्या कूल १०६ रहेको प्रवक्ता देवकोटाले जानकारी दिनुभयो । त्यसमध्ये काठमाडौँ उपत्यकामा एक र उपत्यकाबाहिर १०५ जना आइसोलेशनमा रहेका छन् । मन्त्रालयका दुई वटा कल सेन्टर १११५ र ११३३ मा गत २४ घण्टामा एक हजार ८७६ स्वास्थ्य जिज्ञासासम्बन्धी कलहरु प्राप्त भएका र स्वास्थ्यकर्मी तथा चिकित्सकबाट त्यसको उत्तर दिइएको उहाँले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्