रामेछापमा २४ दिनमा २१२ जनाको र्‍यापिड टेष्ट कुन स्थानीय तहमा कति (सूचिसहित)



२४ वैशाख, रामेछाप ।
रामेछाप जिल्लामा २४ दिनको अवधिमा कोरोना भाइरसको आशंका गरिएका २ सय १२ जनामा र्यापिड टेस्ट गरिएको छ । होम क्वारेन्टाइनमा र क्वारेन्टाइनमा बसेका व्यक्तिहरुमाथि पहिलो चरणमा र्यापिड टेष्ट गर्ने काम सम्पन्न भएको हो । जिल्ला स्वास्थ्य कार्यालय रामेछापले तीन वटा प्राविधिक टोली सहित बैशाख १ गतेबाट  रामेछापको आठ वटै स्थानीय तहमा र्‍यापिड डायग्नोस्टिक टेष्ट (आरडीटी) प्रविधिबाट  टेस्ट गर्ने काम अगाडि बढाएको थियो ।

जिल्लामा २ सय १२ जनामाथि गरिएको र्यापिड टेस्टको सबै रिपोर्ट नेगेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालय रामेछापका प्रमुख जितेन्द्र कर्णले रामेछाप न्युजलाई बताउनुभयो । उहाँका अनुसार जिल्लाका ८ वटा स्थानीय तहमा १ सय ६६ जना पुरुष र ४६ जना महिलामाथि र्यापिड टेष्ट गरिएको छ ।

हालसम्म सुनापती गाउँपालिकामा २१ जना, खाँडादेवी गाउँपालिकामा ४० जना,दोरम्बा गाउँपालिकामा १५ जना मन्थली नगरपालिकामा ४५ जना , रामेछाप नगरपालिकामा २६ जना , लिखुतामाकोशी गाउँपालिकामा ६ जना, गोकुलगंगा गाउँपालिकामा ४१ जना र उमाकुण्ड गाउँपालिकामा १६ जनाको र्यापिड टेष्ट गरिएको छ । पहिलो चरणमा विदेशबाट आएका व्यक्तिहरुलाई निगरानीमा राखेर र्यापिड टेष्ट गरिएको प्रमुख कर्णले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्