लकडाउनले रोकिएको रामेछापका दुई सडकको निर्माण सुचारु



२३ वैशाख, रामेछाप ।
लकडाउनको कारण स्थगित भएको रामेछापका ठूला सडक निर्माणको काम अगाडि बढेको छ । ठूला आयोजना सञ्चालन गर्न दिने जिल्ला विपद् व्यवस्थापन समितिको निर्णय अनुसार सडक निर्माणको काम अगाडि बढेको हो । बागमती प्रदेश अन्तर्ग सञ्चालित सडक निर्माणको काम अगाडि बढेको छ ।
पूर्वाधार विकास कार्यालय रामेछापका प्रमुख सोमनाथ तिम्लसिना सडक निर्माणको जिम्मेवारी पाएका निर्माण व्यवसायीहरुलाई काम अगाडि बढाउन आग्रह गरेको रामेछाप न्युजलाई बताउनुभयो । उहाँले भन्नुभयो,‘सामाजिक दुरी कायम गरेर काम गर्नुपर्ने अवस्था छ, जिल्ला बाहिरका कामदार नल्याएर सकेसम्म जिल्लाभित्रकै कामदार प्रयोग गर्न आग्रह गरेका छौं ।

तिम्लिसेनाका अनुसार बागमती प्रदेश अन्तर्गत रामेछाप जिल्लाभित्र ३१ वटा आयोजना रहेका छन् । जस मध्य ६ वटा सडकको कालोपत्रेको काम अगाडि बढेको छ । बागमती प्रदेश सरकारले स्थानीय तहदेखि सदरमुकामसम्म जोडन मुख्य सडकको पहिचान गरेर कालोपत्रको लागि ठेक्का लगाएको छ ।
जिल्लाकाको मन्थली–सानिमदौ–राल्टार–सालु सडक र सित्खा–भिरपानी, गोगनपानी सडक खण्डको निर्माणको काम पुनः सुचारु भएको छ ।
बागमती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री कैलाश ढुंगेलको पहलमा जिल्लाभित्र एक साथ छ वटा सडक कालोपत्रको काम अगाडि बढेको छ भने ३१ वटा सडक आयोजनाको काम भइरहेको छ । मन्त्री ढुंगेलले रामेछाप न्युजसँग भन्नुभयो,‘सरकारले तोकेको मापदण्ड पालना गरेर काम गर्न आग्रह गरेका छौ, विकास निर्माणको काम अगाडि बढाउन अब कुनै बाधा छैन् ।’

प्रतिक्रिया दिनुहोस्