कोरोनाको आशंकामा रामेछापका दुई व्यक्तिको स्वाब परीक्षण गर्न टेकु पठाइयो
२५ वैशाख, रामेछाप ।
रामेछाप जिल्लामा दुई जना आइसोलेसनमा भर्ना भएका बिरामीको स्वाब परीक्षण गर्न काठमाडौं पठाइएको छ । रुघाखोकी र ज्वरो आएका ती दुई बिरामी केही दिनयता मन्थली नगरपालिकाको क्वारेन्टाइनमा बस्दै आएका थिए । जिल्ला अस्पताल रामेछापले कोरोना भएको हुनसक्ने आशंकामा २ जना पुरुषको स्वाब परीक्षणको लागी टेकु पठाएको छ ।
मन्थली नगरपालिका–४ घर भएका २० र ४८ वर्षका २ जना पुरुषलाई कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएपछि उनिहरुको स्वाब स्वाब संकलन गरेर परीक्षण गर्न टेकु पठाइएको जिल्ला अस्पताल रामेछापका कोरोना रोग सम्पर्क व्यक्ति डा. आनन्द आचार्यले बताउनुभयो ।
हालसम्म जिल्ला अस्पतालमा भर्ना भएका चार जनालाई स्वाब परीक्षण गर्न पठाइएको बताउदै डा. आचार्यले सबैको रिपोर्ट नेगेटिभ आएको बताउनुभयो । उहाँले भन्नुभयो,‘आइसोलेसनमा उपचार भइरहेका दुवै बिरामीको अवस्था सामान्य नै छ, रिपोर्ट नआउदासम्म केही भन्न सकिने अवस्था छैन् ।’