रामेछापका मनकारी होम बुढाथोकीः जसले अलपत्र परेका २५ हजार नागरिकहरुलाई निःशुल्क खाना खुवाए



२६ वैशाख, काठमाडौं ।
नेकपाका नेता एवं उद्यमी रामेछाप निवासी होम बहादुर बुढाथोकीको लकडाउनको कारण काठमाडौंमा अलपत्र परेका नागरिकहरुलाई दैनिक रुपमा निशुल्क भोजन गराएर दिन दुखीको सेवामा खटिनुभएको छ । लकडाउनको अवधि लम्बिदै जादा बुढाथोकीको मनमा आयो संकटको बेला सरकारको आलोचना गरेर बस्नु भन्दा सकेको सहयोग गर्ने ।

उहाँले सञ्चालनमा ल्याउन तयारी गर्नुभएको अरिकल इभेन्ट्स तयारी अवस्थामा थियो । उपत्यकाभित्र दैनिक ज्याला मजदुरी गरेर खाने, सडकमै जीविका चलाउदै आएका नागरिकरुको अवस्था दिन प्रतिदिन कष्टकर बन्दै गएपछि बुढाथोकीले अठोट गरे–सहयोग गर्ने संकट परेकै बेला हो ।

काठमार्डौभित्र खाना नपाएर भोकभोकै पर्न थालेको समाचारले मन चसक्क भएको बताउदै बुढाथोकीले वडा कार्यालयसँग समन्वय गरेर वैशाख ९ गतेबाट अरिकल इभेन्ट्समा निःशुल्क खाना खुवाउने घोषणा गर्दै सुरुवात गर्नुभयो । सुरुको दिनमा साढे तीन सय जनालाई निशुल्क भोजन गराउनु भएका बुढाथोकीले भोकभोकै परेका नागरिकहरुलाई भोजन गराउन आफ्नो दायित्व र कर्तव्य सम्झिएर निरन्तरता दिदै आउनुभएको छ ।

बुढाथोकीको दैनिकी निकै व्यस्त छ । बिहान झिसमिसेसँगै साथीहरुसँग भोजनको तयारीमा खटिनुहुन्छ । खाना तयार भएपछि सुरु हुन्छ प्याकिङ गर्न । खाना प्याकिङ नगर्दा बाहिर भोजन गर्ने व्यक्तिहरु भेला भइसकेका हुन्छन् । ‘दिन दुखीको सेवा गर्न पाउदा मन त्यतिकै आनन्द हुँदो रहेछ’, उहाँले भन्नुभयो,‘पैसाले त कसलाई पो पुग्छ र लकडाउन अवधिभर निशुल्क भोजन गराउने कामलाई जारी राख्छु ।’

उहाँले अहिले गाडीमा प्याकिङ खाना राखेर चक्रपथ आसपासमा खान नपाएका व्यक्तिहरुलाई पुर्याउने गर्नुभएको छ । पन्ध्र जना भएको ठाउँमा खाना पुर्याउने गरिएको छ, लकडाउनको कारण कोही पनि भोकै नपरुन भनेर लागेको छु, उहाँले भन्नुभयो । आफूले सुरु गरेपछि काठमाडौमा अहिले धेरैले निशुल्क भोजन गराउने काम सुरु गरेकोप्रति खुसी लागेको बताउदै उहाँले भन्नुभयो,‘संकटको बेला गुनासो र आलोचना मात्र नगरौ, सकेको सहयोग गरौ ।’

रामेछाप खाँडादेवी गाउँपालिका निवास बुढाथोकीले अलपत्र परेका नागरिकहरुलाई भोकै पर्न नदिने बताउदै यदी रामेछापवासी भोकै पर्नुभएमा सम्पर्क गर्न पनि आग्रह गर्नुभएको छ । उहाँले दैनिक रुपमा बिहान १० देखि १२ बजेसम्म पुनः निशुल्क भोजन गराउदै आउनुभएको छ ।

लकडाउन घोषणा भएको ४५ दिन पुगेको छ । बुढाथोकीले भन्नुभयो,कोरोना चिन्ता नगरी परिवारको स्वास्थ्यको चिन्ता नगरी सडकमा अलपत्र परेका व्यक्तिहरुलाई भोजन गराउने कार्यमा लागिरहेका छौं ।’ उहाँले यस अभियानमा सहयोग गर्ने मोहन ढकाल, यज्ञ नेउपाने, दिपेश बुढाथोकीप्रति धन्यवाद दिदै इभेन्ट्सका सेभ र कुक र सहयोगीहरु सबैजना धन्यवादको पात्र भएको बताउनुभयो । वैशाख ९ गतेबाट सुरु भएको निशुल्क भोजनमा हालसम्म २५ हजार नागरिकहरुले भोजन गरिसकेको बुढाथोकीले जानकारी दनुभयो ।

प्रतिक्रिया दिनुहोस्