डेढ महिनापछि रामेछापका सबै बैंकका शाखा भोलिबाट खुल्दै



२६ वैशाख, रामेछाप । मन्त्रिपरिषद्को निर्णय अनुसार आइतवार अर्थात भोलिबाट रामेछाप जिल्लाका आठ वटा स्थानीय तहमा रहेका बैंक तथा वित्तीय संस्थाका शाखा खुल्ने भएका छन् ।

सरकारले बैंक तथा वित्तीय संस्था, बीमा, धितोपत्र, सरकारी संस्थामार्फत अतिआवश्यक पर्ने कर्मचारीमध्ये एकतिहाइ कर्मचारीबाट आलोपालो गरी सेवा सञ्चालन गर्ने निर्णय गरे अनुसार जिल्लाभित्र रहेका बैंकका शाखा सञ्चालनमा आउने भएको हो । सोही निर्णयका आधारमा आइतबारदेखि सबै बैंक तथा वित्तीय संस्थाका शाखा स्वास्थ्य सुरक्षाका मापदण्ड पूरा गरी सञ्चालनमा ल्याउने तयारी गरिएको हो । नेपाल बैंकर्स संघले सबै बैंकका सम्पूर्ण शाखा खोल्न आग्रह गरेको छ ।

एक पटकमा शाखा कार्यालयमा पाँच जनाभन्दा बढी सेवाग्राहीलाई प्रवेश नदिने, मास्क, स्यानिटाइजर लगायतका स्वास्थ्य सुरक्षाका सामग्री बैंकका कर्मचारी र सेवाग्राहीका लागिसमेत अनिवार्य गरिएको छ । ‘लकडाउन’को अवधिमा बैंकले आलोपालो सेवा दिँदै आएका थिए । शाखा कार्यालय नजिक रहेका एटिएम काउन्टर बन्द गरिएका थिए भने अन्य स्थानमा एटिएम सञ्चालनमा ल्याइएको थियो ।

सरकारले गत चैत ११ गतेदेखि कोरोनाको सङ्क्रमण बढ्न नदिन ‘लकडाउन’ घोषणा गरेसँगै बैंक तथा वित्तीय संस्था आंशिकरुपमा खुलेका थिए । उनीहरुले ग्राहकलाई बढीभन्दा बढी विद्युतीय माध्यममार्फत कारोबार गर्न आग्रह गरेका थिए । सरकारको पछिल्लो निर्णयलगत्तै बैंकका शाखा खुल्ने निर्णयले ग्राहकलाई थप राहत पुग्ने भएको छ ।

रामेछाप जिल्लाको सदरमुकाम मन्थलीमा मात्र नौ वटा वैंकका शाखा सञ्चालनमा रहेका छन् । उद्योग वाणिज्य संघ रामेछापका अध्यक्ष केशव घिमिरेले बैंक तथा वित्तिय संस्था सञ्चालनमा आएसँगै व्यवसायीहरुलाई कारोबार गर्न सहज हुने बताउनुभयो । जिल्लाको सबै स्थानीय तहमा गरी करिब १८ वटा भन्दा बढी बैंकको शाखा सञ्चालनमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्