राहतको सट्टा रोजगारी दिने खाँडादेवी गाउँपालिकाको निर्णय



२७ वैशाख, रामेछाप ।
लकडाउनको कारण गाउँपालिकाभित्र जीविर्कोपार्जन गर्न कठिन भएका काम गर्न सक्ने नागरिकहरुलाई खाँडादेवी गाउँपालिकाले राहतको सट्टा रोजगारी दिने निर्णय गरेको छ । लकडाउनको कारण रोजगारी गुमाएर गाउँ फर्किएका काम गर्न सक्ने नागरिकहरुलाई वडास्तरमा सञ्चालित विकास निर्माणको काममा लगाउने निर्णय गरेको हो ।

शुक्रवार बसेको खाँडादेवी गाउँपालिकाको कार्यपालिकाको बैठकले गाउँपालिकाभित्र सञ्चालिक विकास निर्माणको काममा रोजगारी दिएर राहतको सट्टा काम गरे बापतको पारिश्रमिक दिने निर्णय गरेको छ । खाँडादेवी गाउँपालिकाका अध्यक्ष प्रेम बहादुर तामाङले राहतले परनिर्भरतता बढाउने भएकाले काम गर्न सक्ने नागरिकहरुलाई रोजगारी दिएर काम दिने निर्णय गरेको बताउनुभयो ।

उहाँले रामेछाप न्युजसँग भन्नुभयो,‘रामेछाप जिल्लामै हामीले पहिलो पटक यो निर्णय कार्यान्वयन गर्न लागेका छौ, राहतले होइन रोजगारीले गाउँपालिकालाई समृद्ध ब नाउन सकिन्छ ।’ अध्यक्ष तामाङले अपाङ, शसक्त र जेष्ठ नागरिकहरुको हकमा भने वडामा स्थापना भएको हेल्प डेक्सले आवश्यकताको आधारमा राहत वितरण गर्ने बताउनुभयो ।

अध्यक्ष तामाङका अनुसार गाउँपालिकाले संकलन गरेको तथ्याङक अनुसार नौ सय जनालाई राहत दिनुपर्ने छ । ‘अधिकाशं नागरिकहरु काम गर्न सक्ने अवस्थामा रहेकाले मेसिनको सट्टा मानव जनशक्ति प्रयोग गरेर अब विकास निर्माणको काम अगाडि बढाउछौ’,उहाँले भन्नुभयो,‘निर्माणाधिन सडक, विद्यालय भवन, खानेपानी आयोजना र अस्पताल निर्माणमा गाउँपालिकाभित्रकै नागरिकहरुलाई परिचालन गरेर रोजगारी दिन्छौ ।’

प्रधानमन्त्री स्वरोजगार कार्यक्रमको १३ लाख, बागमती प्रदेश सरकारबाट प्राप्त १० लाख, गाउँपालिकाले स्थापना गरेको कोराना उपचार तथा रोकथाम कोषको १५ लाख र गाउँपालिकाका जनप्रतिनिधिले प्राप्त गर्ने भक्ता र कर्मचारीहरुकोबाट जम्मा भएको पाँच लाख रकम पहिलो चरणमा रोजगारीको लागि परिचालन गर्ने गाउँपालिकाले निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस्