भिरपानीका वडावासीको पहलमा ४ सय ३७ घरघुरीलाई राहत वितरण



२७ वैशाख, रामेछाप ।
लकडाउनको कारण खाँडादेवी गाउँपालिका–३ भिरपानीका वडाभित्रका दैनिक ज्याला मजदुरी गरेर खाने नागरिकहरुको जनजीवन कष्टकर बन्दै गएपछि वडावासीको सक्रियतामा संकलन भएको पैसाबाट वडाभित्र राहत वितरण गरिएको छ । वडावासीको सक्रियता र वडा कार्यालयको नेतृत्वमा वडाभित्रका ४ सय ३७ घरधुरीमा राहत वितरण गरिएको छ । वैशाख १ गतेबाट सुरु भएको राहत संकलन अभियान अन्तर्गत हालसम्म कोरोना उद्धार कोषमा १८ लाख रुपैयाँ संकलन भएको भिरपानीका वडाका वडा सदस्य भिम श्रेष्ठले बताउनुभयो ।

नेकपा खाँडादेवी गाउँ कमिटीका अध्यक्ष ज्ञान कुमार श्रेष्ठ, व्यवसायीहरु शम्भु श्रेष्ठ, प्रवल कार्की, दिपक पौडेल, एकृष्ण श्रेष्ठ, वडा अध्यक्ष पुष्कर कार्की र वडा सदस्य भिम श्रेष्ठको नेतृत्वमा सुरु भएको राहत संकलनको काम अहिले पनि निरन्तता पाएको छ । वडा सदस्य श्रेष्ठका अनुसार हालसम्म कोषमा २ सय २३ जना वडावासीले आफूले सकेको रकम सहयोग गरेका छन् ।

त्यसैगरी वडा अध्यक्ष पुष्कर कार्कीको नेतृत्वमा भिरपानी वडाका सित्खा, माझी गाउँ, सित्खा टार, डप्खा माझी गाउँ, प्रस्ताविक सामुदायिक संस्था भलाखर्क, वडा कार्यालय भिरपानी, भिरपानी पशु सेवा केन्द्र, आपचौरमा गरी ४ सय ३७ घरधुरीलाई राहत वितरण गरिएको छ । वडा अध्यक्ष कार्कीले वडा कार्यालयले सर्वदलिय बैठक बोलाएर साच्चिकै समस्यामा परेका घरघुरीलाई मात्र राहत दिएको रामेछाप न्युजलाई बताउनुभयो ।
वडावासीको सहयोगमा वितरण गरिएको राहतमा एक घरधुरी बराबर तीस केजीको एक बोरा चामल, २ केजी दाल, एक किलो नुन, एक लिटर तेल र एउटा हात धुने साबुन रहेको छ । पहिलो चरणको राहत वितरण गर्न कोषको ७ लाख २५ हजार रुपैयाँ खर्च भएको छ । त्यसैगरी भिरपानीबाट काठमाडौमा बसोबास गर्ने ११ घरधुरीलाई पनि राहत वितरण गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्