सुनापती गाउँपालिकामा पहिलो पटक सडक कालोपत्रे सुरु भएपछि सुनापतीवासीमा खुसीयाली 



३० वैशाख, रामेछाप ।
सुनापती गाउँपालिकाभित्र पहिलो पटक सडक कालोपत्रको गर्ने काम सुरु भएको छ । सडक निर्माण भएको १५ बर्षपछि गाउँपालिकाको लुभुघाटबाट गाउँपालिकाको केन्द्र हिलेदेवी हुँदै गाल्वासम्मको सडक कालोपत्रको काम अगाडि बढाएको हो ।

बागमती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री कैलाश ढुंगेलको पहलमा गत बर्ष लुभुघाट–खनियापानी, बेथान हिलदेवी हुँदै गाल्वासम्म जोडने तीस किलोमिटर सडक कालोपत्रे गर्न बजेट बिनियोजन गर्नुभएको थियो । बुहबर्षिय ठेक्का अन्र्तगत यस बर्ष लुभबाट खनियापानीसम्मको १३ सय मिटर सडक कालोपत्रेको काम आजबाट अगाडि बढेको हो ।

३ करोड ३५ लाख लागतमा लुभुको मध्यपहाडी लोकमार्ग जिरो किलोमिरबाट सडक कालोपत्रे गर्ने काम अगाडि बढेपछि सुनापती गाउँपालिकावासी खुसी भएका छन् । बन्दन÷भगवती जेभी निर्माण सेवा प्रालिले गरिरहेको सडक निर्माणको कामको आज सुनापती गाउँपालिकाका अध्यक्ष धावा लामा, उपाध्यक्ष गिता विष्ट, गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राममणि काफ्ले सहितको टोलीले अनुगमन गर्नुभएको छ । कालोपत्रे भएको सडकको चौडाई सात मिटर रहेको छ ।

गाउँपालिका अध्यक्ष धावा लामाले गुणस्तरमा कुनै पनि सम्झौता नगर्न निर्माण कम्पनीलाई आग्रह गरेको बताउनुभयो । उहाँले रामेछाप न्युजसँग भन्नुभयो,‘निर्वाचनमा हामीले गाउँपालिकाकाभित्रका मुख्य सडक कालोपत्रे गछौं भनेर बाचा गरेका थियौ, अब विस्तारै पूरा हुँदैछ ।’ सडक निर्माणको काम राम्रो रहेको बताउदै आगामी दिनमा पनि अनुगमनको कामलाई निरन्तरता दिने बताउनुभयो ।
बागमती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री कैलाश ढुंगेलले बहुबर्षिय ठेक्का अन्तर्गत कालोपत्रको काम अगाडि बढेको सडकलाई आगामी आर्थिक बर्षमा पनि प्राथमितामा राखिने रामेछाप न्युजलाई बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्