आर्थिक क्रियापकलाप सुरु नगरे रोगबाट त बचिएला तर भोकबाट बाँचिँदैनः अर्थमन्त्री खतिवडा



३१ वैशाख, काठमाडौं ।
अर्थमन्त्री डा. युवराज खतिवडाले आर्थिक पुनःउत्थान, स्वास्थ्य पूर्वाधार र कृषि क्षेत्रमा आगामी आर्थिक वर्षको बजेट केन्द्रित हुने बताउनुभएको छ । आर्थिक वर्ष २०७७/०७८ को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्ताव बाहेक) माथिको छलफलमा सांसदहरुले उठाउनुभएको प्रश्नको जवाफ दिँदै उहाँले स्वास्थ्य पूर्वाधारलाई पहिलो प्राथमिकतामा राखिएको बताउनुभएको हो ।
आधारभूत स्वास्थ्य सेवा र शिक्षामा राज्यको भूमिका दरिलो बनाउन बजेट केन्द्रित हुने बताउदै उहाँले भन्नुभयो,‘अहिले रोगसँग लड्नुपर्ने छ अर्कातर्फ भोकसँग पनि लड्नुपर्नेछ, उत्पादनसँग जोडिएको क्षेत्रलाई चलायमान बनाउनुपर्नेछ ।’
काम र रोजगारीसँग सम्बन्धित क्षेत्रमा लगानी बढाएनौँ भने अर्थतन्त्र चल्ने बताउदै अर्थमन्त्री खतिवडाले न्यूनतम आर्थिक क्रियापकलाप सुचारु राखिएन भने रोगबाट त बचिएला तर भोकबाट बचिँदैन ।
उहाँले कोरोनाका कारण आर्थिक क्रियाकलापमा केही शिथिलता आए पनि व्यापार घाटा कम हुँदै गएको, भुक्तानी सन्तुलनको स्थिति सुधार हुँदै गएको बताउनुभयो । देशभित्र विद्युत् उत्पादन बढ्दै गएको, विद्युत् आयात निरन्तर घट्दै गएको, पछिल्ला अवधिमा एक अर्बको विद्युत् निर्यात गरिएको जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्