काठमाडौंमा रामेछापका एक व्यक्ति कोरोना संक्रमितः रामेछापमा चासो र चिन्ता



६ जेठ, काठमाडौं ।
रामेछाप निवास एक जना व्यक्तिलाई कोरोना भाइरस भएको पुष्टि भएसँगै रामेछाप जिल्लाको आठ वटै स्थानीय तहमा चासो र चिन्ता बढेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज गरेको पत्रकार सम्मेलनमा थप २७ जनामा रामेछापका एक व्यक्तिमा पनि कोरोना भएको पुष्टि गरेको हो । तर उहाँले रामेछाप स्थायी ठेगाना भएर काठमाडौमा बसोबास गर्दै आएका व्यक्ति रहेको जानकारी दिनुभयो । संक्रमित व्यक्तिको स्वाब राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु काठमाडौंमा परीक्षण गरिएको थियो ।

जिल्ला अस्पताल रामेछापका डा. आनन्द आचार्यले रामेछापबाट स्वाब संकलन गरेर पठाएका सबैको रिपोर्ट नेगेटिभ आएको बताउनुभएको छ । तर रामेछाप जिल्लाभित्र सर्वत्र कोरोना भाइरस संक्रमति हुने व्यक्ति कहाँ र को हो भन्ने चासो सुरु भएको छ ।
रामेछापका आठ वटै स्थानीय तहका जनप्रतिनिधिहरुले कोरोना भाइरस भएका व्यक्तिको पहिचान गर्नको लागि खोजी कार्य सुरु गरेका छन् ।
रामेछापका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले मन्त्रालयको प्रेस व्रिफिङमा रामेछापको व्यक्तिलाई संक्रमण देखिएको जानकारी दिए लगतै संक्रमितको पहिचान गर्ने क्रममा रहेको जानकारी दिनुभयो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले मंगलबार नयाँ संक्रमित २७ जनामध्ये रामेछापका एक जनामा कोरोना भाइरस पोजिटिभ भएको जानकारी गराउनुभएको थियो ।

मन्त्रालयले विवरण सार्वजनिक गर्दा संक्रमित व्यक्तिको स्थायी र अस्थायी दुबै ठेगाना नबताउँदा व्यक्ति पहिचानमा समस्या देखिदै आएको छ । यस अगाडि रामेछाप स्थायी घर भएका २७ वर्षीय सशस्त्र प्रहरीमा कोरोना भाइरसको संक्रमण देखिएको थियो ।

प्रतिक्रिया दिनुहोस्