ब्रेकिङः रामेछापका कोरोना संक्रमित भन्छन–मलाई कोरोना भएको छैन, कोठामै छु
७ जेठ, काठमाडौं ।
स्वास्थ्य मन्त्रालयले रामेछापका एक जनामा कोरोना संक्रमति भएको पुष्टि गरेपनि संक्रमित भनिएका रामेछाप खाँडादेवी गाउँपालिका–१ राकाथुमस्थित धारापानीका एक युवकले आफूलाई कोरोना संक्रमित नभएको दावी गरेका छन् । जिल्ला प्रशासन कार्यालय, जिल्ला स्वास्थ्य कार्यालयले हिजो राती साँझ उनको ठेगानको पहिचान गरेर राती नै राकाथुममा पुगेर उनको परिवारका ८ जना र छिमेकी गरी १५ जनाको स्वाब संकलन गरेर थप परीक्षणको लागि काठमाडौं पठाइएको छ ।
रामेछाप न्युजसँग कुराकानी गर्दै कोरोना संक्रमित भनिएको धर्म श्रेष्ठ (नाम परिर्वतन) भन्नुभयो,‘मलाई कोरोना संक्रमण भएको छैन, जेठ २ गते टेकुमा परीक्षण गर्न गएको हुँ, हिजो अस्पताले फोन गरेर तपाईलाई कोरोना छैन भनेर खबर आएको थियो, अहिले म कोठामै छु, कसैले केही पनि भनेको छैन् ।’
तपाईले किन रिपोर्ट पोजेटिभ हो भनेर प्रशासनलाई किन भन्नुभएको त भन्ने जिज्ञासामा उहाँले थप्नुभयो,‘मैले झुक्किएर नेगेटिभ भन्नु पर्ने पोजेटिभ भनेछु, अब होइन भनेर खबर गर्नु पर्ला ।’
तपाईलाई ज्वरो आउने कुनै समस्याले परीक्षण गर्न जानु भएको हो भन्ने प्रश्नमा उहाँले घरबेटीले घरमा बस्न कोरोना परीक्षण गराउनु पर्ने आग्रह गरेपछि आफू टेकु अस्पताल गएर आएको बताउनयो । उहाँले आफूलाई कुनै ज्वरो आउने खोकी लाग्ने केही पनि नभएको बताउदै आफू स्वास्थ्य रहेको दावी गर्नुभयो ।
आफ्नो बारेमा चर्चा भएको थाहा पाएको बताउदै आज टेकु अस्पताल गएर पुनः परीक्षण गराउने ती व्यक्तिले रामेछाप न्युजलाई जानकारी दिनुभयो ।
जिल्ला प्रशासन कार्यालय रामेछाप र जिल्ला स्वास्थ्य कार्यालय रामेछापले भने स्वास्थ्य मन्त्रालयको दिएको जानकारी अनुसार नै राती नै संक्रमित व्यक्तिको घरमा पुगेर स्वाब संकलन गरेर काठमाडौं पठाएको छ ।
खाँडादेवी गाउँपालिका–१ राकाथुमका वडा अध्यक्ष विष्णु श्रेष्ठले हिजो बेलुका नै संक्रमित भनिएका व्यक्तिको परिवार र अन्य छिमेकीको स्वाब परीक्षण गरेर काठमाडौ पठाएको जानकारी दिए । उहाँका अनुसार संक्रमित भनिएका व्यक्तिले आफूलाई कोरोना नभएको दावी गर्दै आएका छन् ।
