पिसिआर रिपोर्ट नेगेटिभ आएपछि रामेछाप अस्पतालबाट पाँच जना डिस्चार्ज
१४ जेठ, रामेछाप ।
आरडिटी परीक्षणमा पोजेटिभ रिपोर्ट आएपछि जिल्ला अस्पताल रामेछापमा आइसोलेसनमा भर्ना भएका पाँच जनाको पिसिआर रिपोर्ट नेगेटिभ आएपछि आज डिस्चार्ज भएका छन् । पाँच दिन आइसोलेनमा बसेपछि आज पाँचै जनाको रिपोर्ट नेगेटिभ आएको थियो । डिस्चार्ज हुनेमा मन्थली प्राथमिक स्वास्थ्य कार्यालयका तीन जना, एक जना डाक्टर र एक जना नेपाल विद्युत प्राधिकरण रामेछापका कर्मचारी रहेका छन् ।
जिल्ला अस्पताल रामेछापका डा. आनन्द आचार्यले पाँचै जानाको रिपोर्ट नेगेटिभ आएपछि आज डिस्चार्ज भएको रामेछाप न्युजलाई जानकारी दिनुभयो । उहाँका अनुसार एक जना बिरामीलाई हाल आइसोलेसनमा राखेर उपचार भइरहेको छ । कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएपछि स्वाब संकलन गरेर परीक्षण गर्न काठमाडौं पठाइएको डा. आचार्यले जानकारी दिनुभयो।