दोरम्बा गाउँपालिकाका १५ सय जना नागरिक विदेशमा,स्वदेश फर्कन चाहनेले गाउँपालिकामा सम्पर्क गर्न सक्ने



१९ जेठ, रमेछाप ।
दोरम्बा गाउँपालिकाले विदेशमा रहेका आफ्ना नागरिकहरुको तथ्याङक संकलन गरेको छ । गाउँपालिकाको सात वटा वडाबाट संकलन गरिएको तथ्याङक अनुसार विभिन्न देशमा गरी १५ सय २ जना नागरिकहरु विदेशमा रहेका हुन् । दोरम्बा गाउँपालिकाबाट वैदेशिक रोजगारीमा २ सय ५८ जना महिला र १२ सय १७ जना पुरुष रहेको दोरम्बा गाउँपालिकाका उपाध्यक्ष कृशला घिसिङले रामेछाप न्युजलाई बताउनुभयो ।
उहाँका अनुसार दोरम्बा गाउँपालिका–१ डडुवामा ३ सय २३ जना, वडा नम्बर २ दोरम्बामा २ सय १३ जना, वडा नम्बर ३ टोकरपुरमा १ सय ४२ जना, वडा नम्बर ४ गौश्वरामा २ सय ६९ जना, वडा नम्बर ५ गुन्सालमा १ सय ९ जना, वडा नम्बर ६ लखनपुरमा १ सय ४९ जना र वडा नम्बर ७ थापागाउँमा २ सय २५ जना नागरिकहरु वैदेशिक रोजगारीमा रहेका छन् ।
कोरोना भाइरस (कोभिड–१९)को कारण विदेशमा अलपत्र अवस्थामा परेका आफ्ना नागरिकहरुले सम्बन्धित वडा अध्यक्ष र गाउँपालिकामा सम्पर्क गर्न आग्रह गरेको छ । उपाध्यक्ष घिसिङले भन्नुभयो,‘हामीले हाम्रो गाउँपालिकाबाट विभिन्न देशमा रहनुभएका नागरिहरुको तथ्याङ संकलन गरिसकेका छौ, अलपत्र अवस्थामा रहेर स्वदेश फर्कन चाहनुहुने नागरिकहरुले वडाअध्यक्ष र गाउँपालिकामा सम्पर्क गर्नसक्नुहुन्छ ।’
संघीय सरकारले विदेशमा अलपत्र अवस्थामा रहेका, रोजगारी गुमाएका, भिषाको अवधि सकिएका नेपालीहरुलाई प्राथमिकताको आधारमा स्वदेश फर्काउने घोषणा गरिसकेको छ । कहिलेसम्म स्वदेश फर्काउने भन्ने विषयमा परराष्ट्र मन्त्रालयले सम्बन्धित देशमा रहेका दुतावासहरुसँग तथ्याङक माग गरिरहेको अर्थमन्त्री डा. युवराज खतिवडाले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्