रामेछापको लुभु–बेथान–गाल्वा सडक कालोपत्र गर्न थप १८ करोड सुनिश्चित



१९ जेठ, रामेछाप ।
रामेछाप जिल्लाको पश्चिम क्षेत्रको मुख्य सडकको रुपमा रहेको लुभु–बेथान गाल्वा सडकको कालोपत्र गर्न थप १८ करोड बजेटको सुनिश्चितता भएको छ । बागमती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री कैलाश ढुंगेलको विशेष पहलमा बहुबर्षिय ठेक्का प्रणाली अन्तर्गत  निर्माण भइरहेकाे  उक्त सडक सम्पन्न गर्न थप १८ करोड बजेटको सुनिश्चितता गर्नुभएको हो ।

निर्वाचनमा लुभु बेथान गाल्वा सडक कालोपत्रे गर्ने चुनावी प्रतिबद्धता अनुसार मन्त्री ढुंगेलले बजेटको सुनिश्चितता गराएपछि स्थानीयमा खुसीयाली छाएकोे छ । लुभु–गाल्वासम्म तीस किलोमिटर सडक पिच हुने भएको छ । यस बर्ष लुभुदेखि खनियापानीसम्मको करिब १३ सय मिटर सडक कालोपत्रे भएको छ । सुनापती र दोरम्बा गाउँपालिकावासीको साथै काठमाडौबाट सदरमुकाम मन्थलीसम्म जोडने मुख्य सडकको रुपमा रहेको सडक कालोपत्रे सुरु भएपछि गाउँघरमा उत्पादित कृषिजन्य वस्तुलाई राजधानी काठमाडौसम्म लैजान सहज हुने भएको छ ।


सदरमुकाम मन्थलीबाट गाल्वा जोडने करिब तीस किलोमिटर सडक पनि मन्त्री ढुंगेलको पहलमा कालोपत्रेको काम अगाडि बढेकोछ । मन्त्री ढुंगेलले रामेछाप न्युजसँग भन्नुभयो,‘मैले निर्वाचनमा गरेको प्रतिबद्धतालाई विश्वास गरेर जनताले मलाइ भोट दिए, मैले चुनावी बाचा पुरा गर्न सडक कालोपत्रे गर्ने बजेटको सुनिश्चितता गरेको छु ।’

उहाँले निर्वाचनमा गरेको प्रतिबद्धता अनुसार जिल्लाको रणनैतिक सडकको पहिचान गरी प्राथमिकताको आधारमा एक साथ धेरै वटा सडक कालोपत्रेको काम अगाडि बढेको बताउदै निर्वाचनमा गरेको बाचा अनुसार नै आफू जिल्लाको विकास निर्माणको काममा अहोरात्र लागिरहेको बताउनुभयो ।
सुनापती गाउँपालिकाका अध्यक्ष धावा लामाले गाउँपालिकाको चार वटा वडालाई जोडने मुख्य सडक कालोपत्रे गर्न बजेटको सुनिश्चत हुनु खुसीको विषय भएको बताउनुभयो । ‘मन्त्री ढुंगेलको पहलमा बर्षौदेखि हुन नसकेको सडक कालोपत्रेको काम अगाडि बढेको छ’,उहाँले भन्नुभयो,‘सडक कालेपत्रे गर्ने सपना बषौ अघिदेखिको थियो, अहिले पूरा भयो ।’

उहाँले गाउँपालिकाको तीन वटा वडालाई सुविधा हुने गरी निर्माण भएको मध्य पहाडी लोकमार्गले समेत गाउँपालिकाबाट अब राजधानी काठमाडौ आवत जावत गर्न सहज हुने बताउनुभयो । ‘मुख्य दुई वटा सडक सञ्चालन भएपछि गाउँपालिकाभित्र उत्पादि कृषिजन्य वस्तुको निर्यात र्गर्न सहज हुन्छ’,अध्यक्ष लामाले भन्नुभयो ।

प्रतिक्रिया दिनुहोस्