खैरेनीघाट–राकाथुम–गाल्वा–दोरम्बा सडक कालोपत्रे सुरु



१९ जेठ, रामेछाप ।
काठमाडौबाट रामेछापको पर्यटकीय क्षेत्र सैलुङ जोडने छोटो दुरीको सडककाे कालोपत्रे सुरु भएको छ । रामेछापका प्रतिनिधिसभा सांसद श्याामकुमार श्रेष्ठ र बागमती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री कैलाश ढुंगेलको पहलमा उक्त सडक कालोपत्रको काम अगाडि बढेको हो । खाँडादेवी गाउँपालिका–१ राकाथुमकोकाे खैरेनीघाट लुभु–चापडीबीच खण्डको कालोपत्रको काम पहिलो चरणमा सुरु भएको छ । खैरेनीघाट, राकाथुम, गाल्वा दोरम्बा टोकरपुर सडक अन्तर्गत यस बर्ष पहिलो चरणमा सडक कालोपत्रे सुरु भएको हो ।

खाँडादेवी गाउँपालिका– १ का वडाअध्यक्ष विष्णु श्रेष्ठका अनुसार खैरेनीघाट–राकाथुम–गाल्वा–दोरम्बा–टोकरपूर सडकको कालोपत्रे शनिबारबाट सुरुवात भएका छ । यसअघि लुभुघाटबाट सुनापति गाउँपालिकाहुँदै गाल्वा जोड्ने सडकको पनि कालोपत्रे सुरु भइसकेको छ । बीपी राजमार्गको दुम्जामा जोडिने यो सडक कालोपत्रेपछि रामेछापको पश्चिमी गाउँपालिकाको काठमाडौँसँग सहज यातायात सम्पर्क स्थापित हुनेछ ।

संघीय सरकारको १ करोड ५० लाख रुपैयाँ र बागमती प्रदेश सरकारबाट प्राप्त २ करोड रुपैयाँ रकमबाट सडकको कालोपत्रे लगायत अन्य काम संचालन भइरहेको बताउदै वडा अध्यक्ष श्रेष्ठले यस आर्थिक बर्षमा एक किलोमिटर सडक कालोपत्रे हुने बताउनुभयो । करिब दुई करोड ५० लाखमा उक्त सडक निर्माण भइरहेको छ । सडक डिभिजन कार्यालय खुर्कोट र बागमती प्रदेश पुर्वाधार विकास कार्यालय रामेछापले सडक कालोपत्रे निर्माणको काम अगाडि बढाएको हो । पूर्वाधार विकास कार्यालय रामेछापका प्रमुख सोमराज तिम्सिनाले सडकको गुणस्तर राम्रो बनाउनको लागि अनुगमनको कामलाई निरन्तरता दिएको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्