रामेछापका कोरोना संक्रमितलाई लक्षण नै देखिएको छैनः डा. आचार्य



२३ जेठ, रामेछाप ।
रामेछापका कोरोना संक्रमित १७ जनालाई नै कारोना भाइरसको कुनै लक्षण नै नदेखिएकाले छिट्टै स्वास्थ्य हुने विश्वास चिकित्सकले गरेका छन् । गोकुलगंगा गाउँपालिकाका ११ जना र लिखु तामाकोसी गाउँपालिकाका ६ जनालाई आज कोरोना संक्रमण भएको पुष्टि भएको छ ।

जिल्ला अस्पताल रामेछापका डा. आनन्द आचार्यले संक्रमित १७ जनालाई नै कोरोना भाइरसको कुनै लक्षण नदेखिएको बताउनुभयो । उहाँले रामेछाप न्युजसँग भन्नुभयो,‘संक्रमित व्यक्तिहरु भारतबाट जिल्ला आएर क्वारेन्टाइनमा बसेको कारण संक्रमितको परिवारहरुमा थप संक्रमणको जोखिम कम देखिएको छ, उहाँहरुमा संक्रमणका लक्षण समेत देखिएको छैन, छिट्टै स्वास्थ्य भएर घर फर्किने विश्वास लिएका छौ ।’
डा. आचार्यका अनुसार लिखु तामाकोसी र गोकुलगंगा गाउँपालिकामा क्वारेन्टाइनमा रहेका संक्रमित व्यक्तिहरुलाई जिल्ला अस्पताल रामेछाप ल्याउने तयारी भइरहेको जानकारी दिनुभयो । उहाँले सम्बन्धित गाउँपालिकाले एम्बुलेन्स मार्फत अस्पताल ल्याउने बताउदै अस्पतालमा आइसोलेनमा राखेर आजैबाट उपचार सुरु गरिने बताउनुभयो । रामेछाप जिल्ला अस्पतालमा १७ वटा आइसोलेसन बेड रहेको छ । उहाँका अनुसार संक्रमित पुष्टि भएका व्यक्तिहरुलाई रुघा खोकी, ज्वरो आउने लक्षण छैन, अब आइसोलेसनमा राखेर उपचार सुरु हुनेछ ।

प्रतिक्रिया दिनुहोस्