संविधान संशोधन ऐतिहासिक कदमः मन्त्री ढुंगेल



३१ जेठ, काठमाडौं ।
बागमती प्रदेशका प्रवक्ता एवं आर्थिक मामिला तथा योजनामन्त्री कैलाश ढुंगेलले संविधान संशोधन विधेयक दुई तिहाइ बहुमतले पारित हुनु ऐतिहासिक कदम भएको बताउनुभएको छ । उहाँले भारतले अतिक्रमण गरेको नेपाली भूमि लिम्पियाधुरा लिपुलेक र कालापानी समावेश गरेर नेपालले नयाँ नक्सा जारी भएसँगै निशान छाप संशोधन गर्न संसदमा दर्ता भएको विधेयक दुई तिहाई बहुमतको साथ पारित हुने नेपाल र नेपालीको लागि गौरवको दिन भएको बताउनुभएको हो ।

रामेछाप न्युजसँग कुराकानी गर्दै मन्त्री ढुंगेलले भन्नुभयो,‘प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले देशको अतिक्रमित भूमि फिर्ता ल्याउन नयाँ नक्सा जारी गरेसँगै निशान छाप संशोधन विधेयक राष्ट्रिय एकताको साथ पारित हुनु खुसीको विषय हो ।’

राष्ट्रियतासँग जोडिएको मुद्दामा राजनीतिक दलहरुले प्रदर्शन गरेको एकताको बलमा अतिक्रमित नेपालको भूमि फिर्ता ल्याउन सकिने बताउदै कुटनीतिक वार्ता र संवादबाट नेपालले आफ्नो भूमि फिर्ता लिएरै छोडने उहाँले विश्वास व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो,‘हामीले भारतको भूमि मागेका छैनौ, हाम्रो भूमि फिर्ता गर्नुपर्छ भनेर अब देशभित्र बलियो जनमत बनेको छ, यसको भारतले सम्मान गर्नुपर्छ ।’

अहिलेसम्म कुनै पनि सरकारले गर्न नसकेको ऐतिहासिक काम नेकपा नेतृत्वको सरकारले गरेको बताउदै मन्त्री ढुंगेलले राजनीतिक दलहरुले देखाएको एकता नेपाल र नेपालीको लागि ठूलो विषय भएको बताउनुभयो । अब नेपालको जनमतलाई बुझेर भारत वार्ताको लागि तयार हुनुपर्ने बताउदै उहाँले भारतले असल छिमेकीको परिचय दिने बेला आएको प्रतिक्रिया दिनुभयो । नेपालका नक्शा सच्याउने र संविधान संशोधन गर्न पहलकदमी गरेर प्रधानमन्त्री केपी ओली ऐतिहासिक काम गरेको बताउदै ओली नेतृत्वकै सरकारले अब अतिक्रमित भूमि फिर्ता ल्याउने उहाँले विश्वास व्यक्त गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्