रामेछापको भिरपानी वडाको उदाहरणीय कामः एकल पुरुषलाई पनि भत्ता



६ असार, रामेछाप ।
खाँडादेवी गाउँपालिका–३ भिरपानी वडा कार्यालयले एक पुरुषलाई पनि भत्ता दिएर उदाहरणीय काम गरेको छ । रामेछापको ६४ वटा मध्ये एकल पुरुषलाई पनि भत्ता दिने भिरपानी वडा कार्यालयले पहिलो हो । स्थानीय तहले सामाजिक सुरक्षा भत्ता दिने गरेपनि निर्वाचनमा गरेको प्रतिबद्धता अनुसार वडा कार्यालयले गत बर्षबाट एकल पुरुषलाई पनि भत्ता वितरण सुरु गरेको थियो ।

भिरपानीका वडा अध्यक्ष पुष्कर कुमार कार्कीले ५० बर्ष भन्दा माथिका एकल पुरुषलाई पनि सामाजिक सुरक्षा भत्ता उपलब्ध गराएको बताउनुभयो । उहाँले वडाभित्र ५० वर्षमाथिका ४१ जना एकल पुरुषलाई मासिक ५ सय रुपैयाँका दरले प्रतिव्यक्ति ६ हजार रुपैयाँ एकल भत्ता वितरण गरेको जानकारी दिनुभयो ।

‘हामीले एकल पुरुषहरुलाई पनि जीविका चलाउन सहज होस भनेर भत्ता वितरण सुरु गरेका हौ’,वडा अध्यक्ष कार्कीले भन्नुभयो,‘वडाभित्र जेष्ठ नागरिकहरुको सम्मानमा भत्ता दिने काम अगाडि बढाएका हौ ।’ उहाँका अनुसार रातोकार्ड नभएका तर कमजोर अवस्था भएका २६ जना अपाङ्ता भएका व्यक्तिहरुलाई पनि ६ हजारका दरले सामाजिक सुरक्षा भत्ता वितरण गरिएको छ ।

भिरपानीका वडा सदस्य भिम बहादुर श्रेष्ठले निर्वाचनको क्रममा आफूहरुले गरेको प्रतिबद्धता अनुसार नै एकल पुरुषलाई सामाजिक सुरक्षा भत्ता उपलब्ध गराइएको बताउनुभयो । उहाँले ७० वर्ष उमेर नाघेका २ सय ७५ जना जेष्ठ नागरिकलाई पानी तताउने इलेक्ट्रोनिक जग पनि वितरण गरिएको जानकारी दिनुभयो । वडा सदस्य श्रेष्ठका अनुसार बृद्ध एकल पुरुष, अपाङगता प्रोत्साहन भक्ता लिनको संख्या २ सय ७५ जना रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्