रामेछापमा अब १० जना भन्दा बढी भेला हुन नपाइने, जन्ती जान पनि नयाँ नियम



६ असार, रामेछाप ।
कोरोना संक्रमितको संख्या बढेसँगै सरकारले अत्यावश्यक काम बाहेक घर बाहिर नहिडन आग्रह गरेको छ । भिडभाडको कारण थप संक्रमितको संख्या बढने भएपछि सरकारले भिडभाडलाई नियन्त्रण गर्ने नीति लिएको छ । गृहमन्त्रालयले बेलुकी १० बजेदेखि बिहान ५ बजेसम्म पैदल हिडन समेत कडाई गरेको छ । गृहमन्त्रालयको परिपत्र कार्यान्वयन गर्दै जिल्ला प्रशासन कार्यालय रामेछापले पनि जिल्लाभित्र १० जना भन्दा बढी भेला हुन नपाउने नियम लागू गर्ने भएको छ ।

रामेछापका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले जिल्लाभित्र थप सम्भावित कोरोना संक्रिमितको संख्या बढन नदिन १० जना भन्दा बढीलाई भेला हुन नदिने नियम लागू गरेको बताउनुभयो । उहाँले सामाजिक दुरी कायम गरेर मात्र सम्भावित कोरोना संक्रमणबाट बञ्चन सकिने बताउदै विवाह ब्रतबन्धमा आफ्नो परिवारको १५ जना भन्दा बढी सहभागी नहुन आग्रह गर्नुभयो ।

‘विश्व्यापी रुपमा फैलिएको कोरोना भाइरसबाट नेपालमा संक्रमितको संख्या दिनहुँ बढिरहेको छ, रामेछापमा संक्रमित देखिएका छन्, यस्तो बेला भेला हुने र समाजिक कार्यमा भिडभाड गर्ने होइन, संयम भएर सुरक्षित हुने बेला हो ।’ कोरोनाबाट जोगिन स्वयम नागरिकहरु पनि बढी जिम्मेवार बन्न आग्रह गर्दै प्रजिअ शर्माले सरकारले लागू गरेको नियम आफ्नो लागि हो भनेर बुझिन अपिल गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्