नेपालमा कोरोना संक्रमितको संख्या १० हजार नाघ्यो



९ असार, काठमाडौं ।

बितेको २४ घण्टामा नेपालमा थप ५३८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । मंगलबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले थप ९० महिला र ४४८ पुरुष गरी कूल ५३८ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए । योसँगै नेपालमा संक्रमितको संख्या १० हजार नाघेको छ। गौतमले संक्रमितको कूल संख्या १० हजार ९९ पुगेको जानकारी दिदै मंगलबार ७६ जना गरी अहिलेसम्म २ हजार २ सय २४ जना कोरोना संक्रमित उपचारपछि निको भएर घर फर्किएको बताए ।

नेपालमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या २४ पुगेको छ । दैलेखका एक ४५ वर्षिय पुरुषको मृत्यु भएसँगै मृतकको संख्या २४ पुगेको हो ।

मन्त्रालयका अनुसार दैलेखको दुल्लु ३ का ४५ वर्षका पुरुषको प्रादेशिक अस्पताल सुर्खेतमा उपचारका क्रममा मृत्यु भएको हो । मन्त्रालय प्रवक्ता डा। गौतमले उनी क्षयरोग र दमको विरामी समेत रहेको बताए ।
सोमबार उनको मृत्यु भएको हो । ३ गते स्वाव संकलन गरिएकोमा असार ४ गते कोरोना पुष्टि भएको थियो ।

यसैबीच अहिले ७ हजार ८ सय ५१ जना संक्रमित उपचारका लागि विभिन्न अस्पतालका आइसोलेसनमा रहेका छन् । मंगलबार पीसीआर विधिबाट ४ हजार ९ सय ९५ गरी अहिलेसम्म १ लाख ८६ हजार ३ सय ६६ जनाको पीसीआर परीक्षण भएको छ । यस्तै मंगलबार आरडिटी विधिबाट ३ हजार ४ सय ८१ गरी अहिलेसम्म २ लाख ७१ हजार ५ सय ८४ जनाको आरडिटी परीक्षण गरिएको छ । अहिले ८५ हजार ८ सय १३ जना क्वारेन्टिनमा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्