रामेछाप नगरपालिकाको बजेट ६० करोड प्राथमिकताः स्वास्थ्य र कृषि



१० असार, रामेछाप ।

रामेछाप जिल्लाको रामेछाप नगरपालिकाले आगामी आर्थिक बर्ष २०७७/०७८ को बजेटमा कृषि र रोजगारीलाई प्राथमिकता दिएको छ । कोरोना भाइरस संक्रमणका कारण प्रभावित भएकाहरुलाई रोजगारको अवसर बढाउने भन्दै नगरपालिकाले कृषि र रोजगारलाई प्राथमिकतामा राखेको हो । कृषि क्षेत्रमा उत्पादन र उत्पादकत्व बढाउदै नागरिकको जीवनस्तर सुधार गर्ने कार्यलाई प्रभावकारी रुपमा सञ्चालन गर्न नीति तथा कार्यक्रममा प्राथमिकता साथ राखिएको छ ।

नगर उपप्रमुख सृजना खड्काले सातौं नगर सभामा प्रस्तुत गरेको नीति तथा कार्यक्रममा कोभिड–१९ का कारण विदेश तथा स्वदेशमा जागिर गुमाएका तथा बेरोजगार युवालाई व्यावसायीक कृषि तथा पशुपालनमा प्रोत्साहन गर्न युवा स्वरोजगारका कार्यक्रम सञ्चालन गरिने बताउनुभयो । उल्लेख छ । कृषि र पशुपालन क्षेत्रबाट रोजगारीका अवसर सृजना गर्न सकिने भन्दै आउदो बर्षका अधिकांस कार्यक्रम कृषि र पशु पालन तर्फ केन्द्रित गरिएको छ । यसैगरी कोरोना रोकथाम, नियन्त्रण, प्रतिकार्य र उपचारलाई प्रभावकारी बनाउने योजनालाई प्राथमिकता दिईएको छ ।

नगरपालिकाले चालु आर्थिक वर्षमा ८३ प्रतिशत प्रगति हासिल गरेको जनाएको छ । आर्थिक वर्ष २०७७/०७८ का लागी रामेछाप नगरपालिकाले ६० करोड १५ लाख ११ हजार ४ सय ६० रुपैयाँको बजेट प्रस्तुत गरेको छ । रामेछाप नगरपालिकाका प्रमुख नर बहादुर थापा मगरको अध्यक्षतामा सम्पन्न सातौँ नगर सभामा प्रमुख प्रशासकिय अधिकृत दिपेन्द्र पौडेल सहित नगर कार्यपालिकाका सदस्यहरुको सहभागीता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्