कोरोना नियन्त्रण र रोकथाममा दोरम्बा गाउँपालिकाको खर्च ८ लाख
१२ असार, रामेछाप ।
दोरम्बा गाउँपालिकाले कोरोना भाइरस (कोभिड–१९)को रोकथाम र नियन्त्रणको लागि तीन महिनाको अवधिमा ८ लाख रुपैयाँ खर्च गरेको छ । गाउँपालिकाले २ सय वटा क्वारेन्टाइन बेड, १५ वटा आइसोलेसन वेड र औषधी उपकरण गरी ८ लाख रुपैयाँ खर्च गरेको हो ।
दोरम्बा गाउँपालिकाका अध्यक्ष कमानसिंह मोक्तानले बागमती प्रदेश सरकारबाट प्राप्त १० लाख मध्ये ८ लाख रुपैयाँ खर्च भएको रामेछाप न्युजलाई बताउनुभयो । उहाँले भन्नुभयो,‘तीन महिनाको अवधिमा क्वारेन्टाइन बेड तयार गर्ने र आवश्यक स्वास्थ्य सामाग्री खरिद गर्ने काममा ध्यान दिएका छौ ।’
उद्धारमा जनप्रतिनिधि र कर्मचारीको सहयोग
लकडाउनको कारण काठमाडौंमा अलपत्र नागकिरहरुको उद्धार गर्न गाउँपालिलाई व्यभार नपर्ने गरी जनप्रतिनिधि र कर्मचारीको एक दिनको तलबबाट गाडीको व्यवस्था गरिएको अध्यक्ष मोक्तानले बताउनुभयो । उहाँले भन्नुभयो,‘अलपत्र परेका नागरिकहरुलाई २४ वटा गाडीमा गाउँ फर्काउन ६ लाख रुपैयाँ खर्च भयो, जनप्रतिनिधि र कर्मचारीबाट बजेटको व्यवस्थापन गरेका हौं ।’