दोरम्बा गाउँपालिकाको दोरम्बामा अन्तर्राष्ट्रियस्तरको रंगशाला बन्ने (भिडियोसहित)



१३ असार, रामेछाप ।
खेलकुद क्षेत्रको विकास गर्ने मुख्य उदेश्य सहित दोरम्बा गाउँपालिका–२ दोरम्बामा अन्तर्राष्ट्रियस्तरको दोरम्बा सहिद स्मृति रंगशाला निर्माण हुनेभएको छ । गाउँपालिकाले रंगशाला निर्माण गर्नको लागि विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) तयार गरेको छ ।

डिपिआर तयार गरेसँगै गाउँपालिकाले रंगशाला निर्माण गर्नको लागि बागमती प्रदेश सरकार र संघीय सरकारसँग बजेटको लागि पहल गर्ने भएको छ । पार्क सहितको रंगशाला निर्माण गर्नको लागि करिब ५४ करोड बजेट लाग्ने अनुमान गरिएको छ ।

रामेछाप जिल्लाकै नमूना रंगशाला निर्माण गर्ने उदेश्यको साथ डिपिआर निर्माणको काम सम्पन्न भएको दोरम्बा गाउँपालिका–२ दोरम्बाका वडाअध्यक्ष खड्गबहादुर श्रेष्ठले रामेछाप न्युजलाई बताउनुभयो । उहाँले भन्नुभयो,‘गाउँपालिकाले पनि रंगशाला निर्माणको लागि प्राथमिकता दिएको छ, अब बजेट जुटाउने काममा लाग्छौ ।’
गाउँपालिकाले ८ लाख रुपैयाँमा दोरम्बा सहिद समृति रंगशाला निर्माणको डिपिआर तयार गरेको हो । रंगशालाभित्र कर्भट हल, फुटवल, भलिवल सहितको पार्क समेत निर्माण हुनेछ । ९० मिटर लम्बाई र ४५ मिटर चौडाई रहेको रंगशालाभित्र अत्याधुनिक ढंगले डिजाइन गरिएको छ ।
दोरम्बा गाउँपालिकाका अध्यक्ष कमानसिंह मोक्तानले खेलकुद क्षेत्रको विकास गर्नको लागि गाउँपालिकाले रंगशाला निर्माणको काम अगाडि बढाउन पहल गर्ने बताउनुभयो । ‘गाउँपालिकाको बजेटले मात्र रंगशाला निर्माण गर्न सम्भव छैन, प्रदेश र संघीय सरकारसँग समन्वय गरेर आवश्यक बजेटको व्यवस्थापन गर्ने काममा लाग्छौ ।’ दोरम्बामा शहिद हुनुभएका २१ जना सहिदहरुको स्मृतिमा दोरम्बा सहिद स्मृति रंगशाला निर्माण गर्न लागिएको उहाँले जानकारी दिनुभयो ।

यस्ताे बन्ने छ दाेरम्बा  सहिद स्मृति रंगशाला (भिडियाे) 

 

प्रतिक्रिया दिनुहोस्