बाली खाने सलह फट्याङग्रा नेपाल प्रवेश गर्‍यो



१३ असार, काठमाडौं ।
बाली खाने सलह फट्याङग्रा नेपाल प्रवेश गरेको छ । शनिबार बिहान ७ देखि ८ बजेको समयमा तराईको विभिन्न सीमाबाट नेपालमा यो फट्याङग्रा प्रवेश गरेको हो । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले सलह नेपाल प्रवेश गरेको बताएको छ ।

मन्त्रालय अन्तर्गतको प्लाण्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रका प्रमुख सहदेव हुमागाईका अनुसार यो फट्याङग्रा भैरहवा, पर्साको पर्सागढी गाउँपालिका, बाराको डुमरवाना र सर्लाहीको नवलपुरमा अहिलेसम्म देखापरेको छ । फट्याङग्राको बथान नै नेपालमा प्रवेश गरेको हो वा तितरबितर भएर आएको हो, त्यो बारेमा पनि अध्ययन भइरहेको उहाँले जानकारी दिनुभयो ।

केन्द्रले अहिले कृषि ज्ञान केन्द्रका बिज्ञ कर्मचारीलाई खटाएर उच्च गुणस्तरको क्यामेराबाट यो फट्याङग्राको टाउको, पेट, एन्टीना, आकार प्रकारको फोटा खिचेर कर्मचारीलाई पठाउन निर्देशन दिएको छ ।
यो फट्याङग्राको एक बथान अफ्रिकाबाट खाडी मुलुक, इरान र पाकिस्तानहुँदै भारत छिरेको थियो । अर्को बथान हिन्द महासागर हुँदै भारतमा प्रवेश गरेको थियो । भारतको दिल्ली, उत्तर प्रदेश, मध्य प्रदेश, महाराष्ट्र, विहार, राजस्थानलगायतका स्थानमा एक महिनाअघि यो फट्याङग्राको बथान प्रवेश गरेको थियो ।

संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठन ९एफएओ० अनुसार एक वर्ग किलोमिटर क्षेत्रमा फैलिएर बस्ने एउटा बथानमा झण्डै चारदेखि आठ करोड फट्याङग्रा हुन्छन् । एक दिनमा फट्याङग्राहरु करिब १३० किलोमिटरसम्म बथान बनाएर हिड्न सक्छन् । फट्याङग्राको एउटा बथानले एक दिनमा करिब ३५ हजार मानिसलाई दुई छाक पुग्ने खाद्यान्न खाइदिने विज्ञहरुले बताएका छन् । यो एक दिनमा ५ सय किलोमिटरसम्म बथानमै उठान भर्छ र आफ्नो गन्तव्यमा पुगेर जमिनमा और्लन्छ ।

प्रतिक्रिया दिनुहोस्