सुनापती गाउँपालिकामा गाडी भाडामा मात्र साढे ६ लाख खर्च
१५ असार, रामेछाप ।
सुनापती गाउँपालिकाले लकडाउनको कारण काठमाडौ उपत्यकामा अलपत्र परेका गाउँपालिकाका नागरिकहरुको उद्धार गर्न साढे ६ लाख रुपैयाँ खर्च गरेको छ ।
लकडाउनको कारण काठमाडौंमा जीविका चलाउनै मुस्किल भएपछि गाउँपालिकाले आफ्ना नागरिकहरुलाई निशुल्क रुपमा बसको व्यवस्था गरेर गाउँ फर्काएको थियो । गाउँपालिकाले नागरिकहरुको उद्धार गर्नको लागि गाउँपालिकाको कोषबाटै खर्च गरेको हो ।
सुनापती गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राममणि काफ्लेले नागरिकहरुको उद्धार गर्नको लागि साढे ६ लाख रुपैयाँ खर्च भएको रामेछाप न्युजलाई जानकारी दिनुभयो ।
उहाँका अनुसार करिब २३ वटा गाडी बापत साढे ६ लाख रुपैयाँ भुक्तानी दिइएको हो । काठमाडौंदेखि सुनापती गाउँँपालिकाको पाँच वटै वडामा नागरिकहरु ल्याउनको लागि करिब १७ हजारदेखि २५ हजारसम्म भाडा तिरेको बताइएको छ ।
यो खर्चसँगै कोरोना भाइरस (कोभिड–१९)को व्यवस्थापनमा गाउँपालिकाले साढे २४ लाख रुपैयाँ खर्च गरेको छ । यसअघि औषधी माक्स सेनिटाइर लगायतको खरिदमा १८ लाख रुपैयाँ खर्च भएको गाउँपालिकाले बताएको छ ।