रामेछापवासीलाई उच्च सतर्कता अपनाउन जिप्रका रामेछापको विशेष आग्रह



२६ असार, रामेछाप ।
देशभर भारी बर्षासँग बाढी पहिरो जाने क्रम सुरु भएपछि जिल्ला प्रशासन कार्यालय रामेछापले रामेछापवासीलाई उच्च सुरक्षा सतर्कता अपनाउन विशेष आग्रह गरेको छ । रामेछाप जिल्लामा पनि विगत तीन दिनयता निरन्तरत बर्षा भइरहेकाले सम्भावित बाढी पहिरोबाट बञ्चनको लागि जिप्रका रामेछापले जिल्लावासीमा विशेष आग्रह गरेको हो ।

रामेछापका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले सम्भावित जोखिमबाट बञ्चनको लागि सुरक्षा सतर्कता अपनाउन जिल्लावासीमा आग्रह गरिएको बताउनुभयो । उहाँले रामेछाप न्युजसँग भन्नुयभो,‘भारी बर्षाको कारण बाढी र पहिरो जान सक्छ, सम्भावित जोखिमबाट बञ्चनको लागि सचेत बनौ ।’

बाढीपहिरोको उच्च जोखिम हुने वस्तीका बासिन्दा विशेष गरी रातको समयमा खाली स्कुल/भवन तथा सुरक्षित स्थानमा बस्न पनि प्रशासनले आग्रह गरेको छ । तामाकोसी लगायत नदी र खिम्ती खोला आसपासमा बालबच्चलाई हिडडुल गर्न नदिन, बर्षादको समयमा आवत जावत नगर्न र अत्यावश्यक बाहेकका सवारी साधन नचालन पनि जिल्ला प्रशासन कार्यालय रामेछापले विशेष आग्रह गरेको छ ।

बाढीपहिरोबाट हुन सक्ने सडक अवरुद्ध हटाउन उद्धारका उपकरणहरु सहितको तयारी अवस्थामा रहन सम्बन्धित निकायलाई तयारी अवस्थामा राखिएको बताउदै प्रजिअ शर्माले बाढीपहिरोका कारण जिल्लाभित्र कहीकतै समस्या आए खबर गर्न पनि आग्रह गर्नुभएको छ ।
गृह मन्त्रालयले केही दिन अझै मनसुन सक्रिय रहेकाले सुरक्षा सतर्कता अपनाउन नागरिकहरुमा अपिल गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस्