फेरिएको छ रे टोकरपुर गाँउ



मनोज कुमार कँडेल

मेरो गाँउको सिर माथी छहरे खोला
असार मास बत्तीने सिगार्चे खोला
यी दुबैको संगम प्यारो घट्टे खोला
कुर्लिएको देखेमैले सम्हाल्ने को होला

बालपनका साथीसँग घुम्दै गरेको
ठूलीबेशी, अल्छी ढुङ्गा डुल्दै गरेको
जन्मेहुर्के त्यही सिके जिन्दगीको भोगाई
गाँउ बेशी, खेतीबारी परिबारलाई सघाई

सिप सिके, ज्ञान लिए त्यही प्यारो ठाउँ
अझै पनि सम्झनामा ताजाछ मेरो गाँउ
ज्ञानको पुन्ज मेरो प्यारो स्कूल कन्ठेश्वर
तिर्थ बर्त धर्म गर्ने पुज्य शैलुङ श्वर

उत्तरतिर शैलुङमुनि दगली त्यो भिर
पुर्बपटी ढुईगाँउ र दोरम्बा हो सिर
पश्चिम तिर सिगार्चे गाउँ सधै हाम्रो साथ
दक्षिण भने ठुलीबेशी घान झुल्ने फाँट

थामचौर, स्कूलडाडा च्यानखोला प्यारो
शिवालय, माइथान त्यो रखे राख्ने डाडो
ऐसेलु र चोत्रो टिप्दै काफल गेडी खाको
दाउरा घास घर बेशी हिड्दा माया लाको

सफल जिवन खोज्दै हिडेउ हामी यूवा सबै
प्यारो गाँउ शुन्य भयो भन्थे आमा बाबै
२ दिन हिड्नु पर्ने शैलुङे त्यो डाडा
भारी बोकी सामल लिन हिडथेऊ हामी सारा

पाखाटोल पाँच घर पाँच दाजुभाई
सबै मिलि बस्ने गर्थे सबै हाइहाई
कोलडाडा भिरकुना त्यो थामघर
तल्लो गाउँ डिउटोल अनि भैसीआल

सिरानघरका हाम्रा काका जान्थे लाहुर
पाठक बस्ती सधै हाम्रो पुज्य बाहुन
फल्याकका घरका छाना सबै टल्कने टिन
गए भन्छन साथी भाई हिजोका दुखी दिन

हररर मोटर गाडि जान्छन अब लिन
मेरो साथी भन्दै थियो पर्दैन अब हिड्न
सबै यूवा घर फर्के गाउँ बनाउने धुन
घान भुलाई, मकै फलाई निकाल्ने रे सुन

स्कूल बन्यो, कलेज खुल्यो धेरै छ रे सेवा
यूवाहरु घर फर्के गाँउ विकासमा टेवा
आमाबाबा हाँसी खुसी सकियो रे रोपाई
मंसिरमा बटुल्ने छन यो असारको कमाई

हिजो राती सपनीमा टोकरपुर गाँउ
साथी भाई भन्दै थिए फेरिएकोछ ठाउँ
साथी भाई भन्दै थिए फेरिएकोछ ठाउँ ।
(कँडेल अधिबत्ता हुनुहुन्छ)

प्रतिक्रिया दिनुहोस्