साउन १५ भित्र एसईईको नतिजा आउने



२९ असार, काठमाडौं ।
राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा साउन १५ भित्र प्रकाशन गर्ने बताएको छ । बोर्डले आन्तिक रूपमा विद्यार्थीहरूले प्राप्त गरेको नम्बर इन्ट्री गरिसकेकाले साउन १५ भित्र नै नतिजा प्रकाशन गर्ने बताएको हो । परीक्षा बोर्डका नियन्त्रक रामराज खकुरेलले हालसम्म करिब ३ लाख विद्यार्थीको नम्बर इन्ट्री भइसकेको जानकारी दिनुभयो ।

‘विद्यालयले जिल्ला शिक्षा समन्वय इकाइमा पठाएको नम्बर जिल्ला जिल्लाबाट इन्ट्री भइरहेको र ३० प्रतिशतको इन्ट्री गर्न बाँकी रहेको उहाँले जानकारी दिनुभयो । जिल्ला–जिल्लाबाट विद्यार्थीले प्राप्त गरेको नम्बर इन्ट्री भए पनि विद्यालय र जिल्ला शिक्षा समन्वय इकाईले प्रमाणीकरण गरेको हार्ड कपि बोर्डमा आएपछि इन्ट्री गरेको नम्बर हार्ड कपिसँग मिले र नमिलेको रुजु गरिनेछ ।

साउन १५ भित्र सार्वजनिक गर्ने तयारी गरेका छौँ । नम्बर इन्ट्री त भएको छ । तर प्रमाणित हार्ड कपि आउन बाँकी छ । वर्षाका कारण दुर्गम जिल्लामा बाटो बन्द भएकाले हार्ड कपि ल्याउन समस्या भएको छ, खकुरेलले भन्नुभयो । बोर्डका अनुसार देशभरबाट ४ लाख ८२ हजार ७ सय ७ जना विद्यार्थी छन् । गत ६ चैतका लागि तोकिएको एसईई कोरोना भाइरसको महामारीका कारण अन्तिम समयमा स्थगित गरिएको थियो । महामारीका कारण परीक्षा गर्न असम्भव भएपछि विद्यालयको मूल्याङ्कनलाई आधार मानेर नतिजा सार्वजनिक गर्न लागिएको हो ।

प्रतिक्रिया दिनुहोस्