खाँडादेवी गाउँपालिकामा सिंहदरवारको अभ्यास



खाँडादेवी गाउँपालिकामा सिंहदरवारको अभ्यास

२९ असार
रामेछाप जिल्लाको खाँडादेवी गाउँपालिकाले गाउँ सभा सञ्चालनमा सिंहदरवारकै अभ्यास सुरु गरेको छ । संघीय संसदमा हुने बैठक सञ्चालन विधि अपनाएर यस पटक नयाँ अभ्यास गरेको हो । गाउँपालिकाले विगतको भन्दा फरक ढंगले गाउँ सभा सञ्चालन गरेर गाउँसभाका सबै सदस्यहरुको सुझाव संकलन गरेर मात्र आर्थिक बर्ष २०७७।०७८ को नीति तथा कार्यक्रम र बजेट परिमार्जन सहित पारित गरेको हो ।

गत असार १० गते नीति तथा कार्यक्रम र बजेट ल्याएको गाउँपालिकाले छ दिन अध्ययन गर्न गाउँसभाका सदस्यहरुलाई समय दिएको थियो । उक्त नीति तथा कार्यक्रमाथि असार १६, १७ र १८ गते सभाका सदस्यहरुले आ–आफ्नो धारणा राखेका थिए । नीति तथा कार्यक्रम र बजेटमाथि गाउँसभामा रहेका ४९ सदस्य मध्ये २५ जनाले बोलेका थिए ।

गाउँपालिकाका अध्यक्ष प्रेम बहादुर तामाङले सञ्चालन गर्नुभएको गाउँसभामा बोल्ने सदस्यहरुलाई दस ७ र १० मिनेटको समय निर्धारण गरिएको थियो । विगतमा छलफल हुने गरेपनि वडा सदस्यहरुले नीति तथा कार्यक्रम र बजेट माथि आफ्नो सुझाव राख्न पाउने गरेका थिएनन् ।
गाउँसभाका सदस्यहरुले उठाएको प्रश्नको पाँच वटा विषयगत समितिका संयोजकहरुले जवाफ दिएका थिए । गाउँपालिकाले आर्थिक समिति, सामाजिक विकास समिति, वातावरण तथा विपद् व्यवस्थापन समिति, सुशासन समिति, विधायक समिति बनाएको छ ।
खाँडादेवी गाउँपालिकाले आर्थिक बर्ष २०७७।०७८ को लागि ८४ करोडको बजेट पारित गरेको छ । गाउँपालिकाका अध्यक्ष तामाङ कुल बजेटको ६२ करोड विकास बजेटमा खर्च हुने रामेछाप न्युजलाई जानकारी दिनुभयो ।

स्थानीय सरकार सञ्चालन ऐन अन्तर्गत गाउँपालिकाले सभा सञ्चालन कार्यविधि बनाएर संस्थागत प्रणालीको विकास गरेको अध्यक्ष तामाङले बताउनुभयो । उहाँले भन्ननुभयो,‘समृद्ध खाँडादेवी गाउँपालिका निर्माणको लागि दिर्घकालिन योजना र लक्ष्य निर्माण गरेका छौ, सडक धमाधम कालोपत्रे हुँदैछन, खानेपानीको योजना तीब्र गतिमा अगाडि बढेको छ, कृषि क्षेत्रलाई पनि हामीले प्राथमिकता दिएका छौं ।’ उहाँका अनुसार असार ३० गते बजेट सार्वजनिक गर्ने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया दिनुहोस्