रामेछापमा साउन १ गतेबाट राष्ट्रिय परिचयपत्रका लागि विवरण संकलन गरिने



२९ असार, रामेछाप ।
रामेछाप जिल्लामा यही साउन १ गतेबाट राष्ट्रिय परिचयपत्रको लागि विवरण संकलन गरिने भएको छ । सरकारले आगामी दिन बर्षभित्र अनिवार्य रुपमा देशभर राष्ट्रिय परिचयपत्र लागू गर्ने नीति अन्तर्गत रामेछापमा पनि राष्ट्रिय परिचयपत्र वितरणको काम सुरु गर्न लागिएको हो ।
रामेछापका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले राष्ट्रिय परिचय पत्रका लागि यही साउन १ गतेबाट वितरण संकलनको काम सुरु गर्ने बताउनुभयो । उहाँका अनुसार जिल्ला प्रशासन कार्यालयमा नागरिकता र राहदानी लिन आउने नागरिकहरुको अनिवार्य रुपमा विवरण संकलन गरिनेछ ।

प्रजिअ शर्माले रामेछाप न्युजसँग भन्नुभयो,‘नागरिकता प्राप्त गरिसकेका नागरिकहरुले राष्ट्रिय परिचयपत्रका लागि वितरण संकलन गराउन सक्नु हुनेछ ।’ उहाँका अनुसार वितरण संकलनका लागि सक्कल नागरिकताको साथै बुबा आमाको सक्कल नागरिकता आवश्यक पर्छ ।
जिल्लामा वितरण संकलन गरेर राष्ट्रिय परिचयपत्र व्यवस्थापन तथा पञ्जिकरण विभागमा पठाइने बताउदै प्रजिअ शर्माले छपाई भएर आएपछि जिल्ला प्रशासन कार्यालयबाटै वितरण गरिने जानकारी दिनुभयो ।

राष्ट्रिय परिचयपत्र बहुउपयोगी हुने बताउदै सरकारबाट प्रवाह हुने सेवा सुविधा प्राप्त गर्नको लागि पनि सहज हुने प्रजिअ शर्माले जानकारी दिनुभयो । सरकारले २०७५ सालमा पाँचथर जिल्लाबाट राष्ट्रिय परिचयपत्र वितरणको काम सुरु गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्