दोरम्बा गाउँपालिकाको मुख्य उपलब्धिः ३ सय ५० किलोमिटर कच्ची सडक निर्माण



३० असार, रामेछाप ।
दोरम्बा गाउपालिकाकाभित्र हालसम्म ३ सय ५० किलोमिटर कच्ची सडक निर्माणको काम भएको छ । स्थानीय सरकार गठन भएपछि दाेरम्बा गाउँपालिकाले चार बर्षको अवधिमा सबै भन्दा बढी बजेट सडक निर्माणमा खर्च गरेको छ । स्थानीय सरकार गठन हुनुपूर्व नै अधिकांश वडामा सडक निर्माण भएपनि केही क्षेत्रमा मात्र ट्रयाक ओपन गर्न बाँकी रहेको थियो । बार्षिक बजेट अन्तर्गत अधिकाशं बजेट सडकको स्तरउन्तीमा खर्च हुने गरेको छ ।  गाउँपालिकाबाट वडा कार्यालयसम्म जाने मुख्य सडकलाई व्यवस्थित गर्नतिर भन्दा पनि हरेक बर्ष नयाँ सडकको ट्रयाक ओपनमा गाउँपालिकाको ध्यान गएको गुनासो नागरिकहरूकाे रहेकाे छ ।

दोरम्बा गाउँपालिकाको वडा नम्बर ३ र वडा नम्बर ५ जोडने खोरेपानी दाउने सडकको नयाँ ट्रयाक निर्माण गरिदै । तस्बीरः नेत्र मोक्तानको फेसबुक पेजबाट ।

हिउदको समयमा चल्ने कच्ची सडक बर्षाको समयमा पानीले बगाउदा बर्षेनी एउटै सडकमा स्तरउन्नतीको नाममा खर्च हुँदै आएको छ । गाउँपालिकाले टेन्टरबाट भन्दा पनि अधिकाश सडकको योजना उपभोक्ता समिति मार्फत सञ्चालन गर्दै आएको छ ।गाउँपालिकाले ‘कृषि र पर्यटन मुख्य सुधार,दोरम्बाा गाउँपालिका समृद्धिको मुख्य आधार’को नारा दिएपनि बजेटमा भने सडक निर्माणले नै प्राथमिकता पाएको छ ।

दोरम्बा गाउँपालिकाका उपाध्यक्ष कृशला घिसिङले गाउँपालिकाभित्र हालसम्म ३ सय ५० किलोमिटर कच्ची सडक निर्माण भएको बताउनुभयो । उहाँले भन्नुभयो,‘कच्ची सडक भएको कारण बर्षामा भत्किने गरेको छ, सकेसम्म गाउँपालिकाले अब नयाँ सडकको ट्रयाक ओपन नगर्ने र भएको सडकलाई व्यवस्थित गर्ने नीति लिएका छौं ।’

गाउँपालिकाबाट सात वटै वडाको केन्द्रसम्म जाने सडक बर्षाको समयमा पनि सञ्चालन गर्ने उदेश्यको साथ गाउँपालिकाले नै जोडर खरिद गरेर सञ्चालन गर्दै आएको छ । त्यसैगरी बागमती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री कैलाश ढुंगेलको पहलमा गत बर्षदेखि गाल्वा–रजमनटार–लखनपुर हुँदै चौरीखोलासम्मको सडक कालोपत्रेको काम अगाडि बढेको छ ।

गाउँपालिकाको नीति तथा कार्यक्रममा भनिएको छ, बर्षा याममा बाढी पहिरोका कारण अधिकांश सडकहरु भत्की जाने र सडक सुचारु गर्नका लागि पनि लाखौ रकम खर्च हुने भएकाले आगामी आर्थिक बर्षदेखि सम्भव भएसम्म गाउँपालिकामा रहेको जोडर प्रयोग गरी क्रमबद्ध रुपमा सडक सुचारु गरिनेछ ।’

प्रतिक्रिया दिनुहोस्