रामेछापकाे विष्णु जनज्योति मावि नमूना विद्यालयको लागि छनोट



१ साउन, रामेछाप ।
सरकारले नमूना विकासको लागि देशभरका एक सय वटा विद्यालय छनोट गरेको छ । छनोट गरेको विद्यालय अन्तर्गत रामेछाप जिल्लाको खाँडादेवी गाउँपालिका–६ माकादुमको विष्णु जनज्यति मावि समावेश भएको छ ।
शिक्षा तथा मानव स्रोत विकास केन्द्र विद्यालय शिक्षा मापदण्ड निर्धारण शाखाले छनोट गरेको विद्यालयमा विष्णु जनज्याति मावि समावेश गरेको हो ।
खाँडादेवी गाउँपालिकाका अध्यक्ष प्रेम बहादुर तामाङले प्राविधिक शिक्षा पढाइ हुने र भौतिक पूर्वाधार लगायतको संरचनाको पर्याप्त भएको कारण गाउँपालिकाको १२ वटा मावि मध्ये विष्णु जनज्यति माविलाई समावेश गर्न सिफारिस गरेको बताउनुभयो ।

उहाँले रामेछाप न्युजसँग भन्नुभयो,‘देशको एक सय वटा विद्यालय मध्ये रामेछापबाट विष्णु जनज्यति मावि समावेश हुनु हाम्रो लागि खुसीको विषय हो ।’ शिक्षा मन्त्रालयले सय वटा विद्यालयलाई नमूना विकासको लागि छनोट गर्न सूचना प्रकाशित गरेको थियो । शिक्षा विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलको अध्यक्षमा बसेको मन्त्रिस्तरीय निर्णय अनुसार देशभरबाट सय वटा विद्यालयलाई नमूना विकासको लागि छनोट गर्ने निर्णय गरेको हो ।

नमूना विकासको लािग छनोट भएको विष्णु जनज्यति माविका प्रअ प्रमोद केसीले नमूना विकासको लागि छनोट गर्न अहोरात्र लाग्ने खाँडादेवी गाउँपालिकाको भूमिका प्रशसनिय रहेको बताउनुभयो । उहाँले भन्नुभयो,‘हामी सबैको मेहनतबाट आज नमूना विकासको लागि विद्यालय छनोट भएको छ, आगामी दिनमा विद्यालयलाई अझ राम्रो बनाउन लागि पछौं ।’

उहाँका अनुसार हाल विद्यालयमा कृषि विज्ञान अन्तर्गत पशु र वाली विज्ञानको पठनपाठन हुँदै आएको छ । ३ सय २२ जना विद्यार्थी रहेको उक्त विद्यालयमा हाल कक्षा ९ र १० का ६५ जना विद्यार्थीले कृषि विज्ञान अध्ययन गरिरहेका छन् । आधुनिक र सुविधा सम्पन्न विद्यालयलाई थप प्रविधिमैत्री बनाएर पठनपाठनको व्यवस्था गरिने गाउँपालिकाका अध्यक्ष तामाङले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्