बेथानका जिबी लामाको उदाहरणीय कामः विदेश छोडेर गाउँमै सुन फलाउदै



३ साउन, रामेछाप ।
स्वदेशमा केही पनि काम पाइएन भनेर भौतारिने युवाहरुको संख्या ठूलो छ । रोजगारीको लागि अधिकांश युवाहरु विदेशमा छन् । स्वदेशमा केही पनि छैन भनेर आज नेपालका पचास लाख भन्दा बढी युवाहरु विदेशमा छन् । युवा विदेशिदा गाउँका खेतवारी बाँझै छन् । गाउँघर बृद्धाबृद्धा मात्र बस्ने थलो बन्न पुगेको छ । गाउँघरमा स्रोत र साधन भएर पनि युवाहरु स्वयंमले जाँगर भर्न नसक्दा भने अहिले पनि खाडी मूलकमा ज्यानको बाजी लगाएर युवाहरु काम गरिरहेका छन् । नेपालमा केही पनि गर्न सकिएन भनेर भौतारिने युवाहरुको लागि एउटा गतिलो उदाहरण बनेका छन सुनापती गाउँपालिका–४ बेथानस्थित डहुका  युवा जिबी लामा ।

युवाहरु धमाधम विदेश पलायन भइरहेका बेला लामाले भने आफ्नै गाउँठाउँमा बाख्रापालन गरेर विदेशमा कमाउने भन्दा दोब्बर आम्दानी गर्न सफल भएका छन् । आफ्नै घरपरिवारसँग बसेर बाख्रापाखामा रमाउदै सुरु गरेको बाख्रपालन व्यवसायले राम्रो आम्दानी गर्न सफल भएकोमा लामा खुसीसँगै दंग भएका छन् । सुरुमा बाख्रपालन व्यवसाय गर्दा बाख्रा पालेर पनि के हुन्छ र भन्दै निराश बनाउनेहरुलाई लामाले आफ्नो मेहनत र कामबाटै जवाफ दिएका छन् ।

‘मनमा देशभित्र आफ्नै गाउँमा केही गर्नुपर्छ भन्ने दृढ अठोटका साथ मैले बाख्रापालन व्यवसाय रोजेको हुँ’, लामाले भने,‘स्वेदशमै केही गर्न सकिदैन होइन, गाउँठाउँमै बसेर राम्रो आम्दानी गर्न सकिन्छ, जोस र जाँगर चाही चाहिन्छ ।’ परम्परागत रुपमा भन्दा पनि व्यवसायिक र आधुनिक ढंगबाट बाख्रापालन सुरु गरेका लामाले दुई बर्षको अवधिमा अपेक्षा गरेजस्तै सफलता हासिल गर्न सफल भएका छन् ।
सुनापति एग्रो एण्ड मल्टिपर्पोज प्रालि स्थापना गरेर गाउँका युवाहरुलाई गाउँघरमै केही गर्न सकिन्छ भन्ने उदाहरण देखाउन लामा सफल भएका छन् ।
यस भन्दा अगाडि पनि गाउँमा व्यवसायक फार्म दर्ता भएर पनि सञ्चालन हुन सकेको थिएन । २०७५ बैशाख ३१ गते फार्म दर्ता गरेको बताउदै उनले २०७५ भदौ २७ गतेदेखि २३ वटा बाख्राबाट व्यवसाय सुरु गरेको बताउछन । हालसम्म फार्मबाट ४३ वटा खसी बोका विक्रीबाट ४ लाख ३६ हजार आम्दानी गर्न सफल भएको बताउदै उनले बाख्रापालनसँग तरकारी खेती, बुद्धचित्त माला, आम लिचीर एभोकाडोको खेती समेत गर्दै आएको बताए ।

सुरुमा बाख्रापालन गरेर यो दुःख गर्नु भन्दा बरु ज्यामी काम गरेर खानु राम्रो भन्ने सुझाव पाएको बताउदै लामाले बाख्रापालन पेशामा टिक्न नसक्ने भन्दै भरिएको उर्जा कमजोर पार्ने काम गरेको अनुभव सुनाउछन । ‘अनुदान लिने प्रलोभनमा फार्म सञ्चालन गरिएको होइन,बाख्रापालनबाटै आत्मनिर्भर बन्ने मुख्य उदेश्यको साथ गाउँमै केही गरेर देखाउन सुरु गरेको हो’, लामाले भने,‘केही काम छैन, केही गर्न सकिएन नभनौ सानो लगानीबाट पनि राम्रो आम्दानी गर्न सकिन्छ ।’

काठमाडौंमा थोरै पारिश्रमिकमा काम गर्नु भन्दा आफ्नो गाँउमा भएको बाँझो खेतबारीमा व्यवसायिक ढंगबाट खेतीपाती र पशुपालन गरेर राम्रो आम्दानी गर्न सकिन्छ, उनले भने । रोजगारी पाइएन भनेर सरकारको मुख ताक्नु र सरकारलाई गाली गर्नु भन्दा आफूसँग भएको सीप र श्रमलाई आफ्नै पाखापखेरामा भिजाउ, राम्रो आम्दानी गर्न सकिन्छ, उनले अनुभव सुनाए ।

बाख्रा चराउदा बनपाखा गर्दा काँडाले घोच्छ, दानापानीको ब्यवस्था गर्दा, बर्कुला गोबर सोहोर्दा, दुखजिलो र कठिनाइ महसुस हुन्छ । तर जब आफ्नो उत्पादन बेचेर हातमा नोट आउन थाल्छ नि तब ती सबै कठिनाइ र पीडाहरु कम हुदै गएको महसुस हुन थाल्छ, उनले भने ।
गाउँघरमै उद्यम गर्न चाहने युवाहरूलाई सरकारले लगानीको वातावरण बनाउनु पर्ने बताउदै उनले सहुलियत ब्याजदरमा सहज तरिकाले ऋणको ब्यवस्था गर्नु पर्ने बताए । ११ बर्ष विदेशमा बसेर स्वदेश फर्किएका लामाले बाख्रापालन व्यवसाय सरु गरेपछि गाउँका अन्य युवाहरु पनि पशुपालन पेशातर्फ आकर्षित हुन थालेका छन् ।

प्रतिक्रिया दिनुहोस्