जन्मभूमि रामेछापमा पुष्पलालको सम्झना (फोटोफिचर)



७ साउन, रामेछाप ।
रामेछाप जिल्लामा जन्मिनुभएका नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको आज ४२औँ स्मृति दिवसको अवसरमा रामेछापमा विभिन्न कार्यक्रम गरी मनाइएको छ । रामेछापको विटार पार्कमा वृक्षरोपन गर्नेदेखि लिएर पुष्पलालको जन्मभूमि रामेछापको भङ्गगेरीमा उपस्थित भएर दिवस मनाइएको हो । त्यसैगरी खाँडादेवी गाउँपालिका–४ मा रहेको पुष्पलाल स्मृति पार्कमा पनि वृक्षरोपन गरेर स्मृति दिवस मनाइएको छ ।

बिक्रम संवत २००६ साल बैशाखमा निरञ्जनगोविन्द वैद्य, नारायणविलास जोशी, नरबहादुर कर्माचार्य र मोतीदेवी शाक्यसँग मिलेर पुष्पलालले भारतको कोलकातामा बसेर नेकपा स्थापना गर्नुभएको थियो । १५ असार वि. सं. १९८१ मा पिता भक्तलाल र आमा तुलसीकुमारीका माहिला पुत्रका रूपमा रामेछापमा जन्मिएका पुष्पलालले प्रवासमा बसेर नेकपाका गतिविधि गर्नुभएको थियो ।

नेपाली कांग्रेस र कम्युनिष्टहरू मिलेर संघर्ष गरेमा मात्र नेपालबाट निरंकुश पञ्चायती समाप्त हुन सक्छ भन्ने भविष्यवाणी गर्ने नेता पुष्पलालको २०३५ साल साउन ७ गते भारतको नयाँ दिल्लीस्थित अल इण्डिया मेडिकल इन्स्टीच्युटमा उपचारका क्रममा निधन भएको थियो ।

भङ्गेरीमा आयोजना गरेको स्मृति दिवसमा जिल्ला इन्चार्ज देवशकंर पौडेलले पुष्पलालको जीवनशैलीबाट पार्टीले  अझै  धेरै कुरा सिक्न जरुरी रहेको बताउनुभयो । पौडेलले भन्नुभयो,‘कम्युनिष्ट पार्टी नेता प्रधान हैन नीति प्रधान हुनुपर्छ भन्ने पुष्पलालको भनाई र आजका हाामीले आफैतिर फर्किएर हेर्दा आन्दोलनको परिभाषा नै बदलिएजस्तो अनुभूति भइरहेको छ ।’ बाटो सही भएमात्र लक्ष्यमा पुग्न सकिन्छ, पुष्पलालको मार्ग निर्देशनको पालना गरौ, उहाँको जीवनशैलीबाट सिर्कौ, पौडेलले भन्नुभयो ।

प्रतिक्रिया दिनुहोस्