रामेछापको विटार पार्कमा नेकपा र कांग्रेसको आकर्षण



७ साउन, रामेछाप ।
रामेछापका सहयोगी मनहरु समुह (रासम) को सक्रियतामा निर्माण सुरु भएको विटार पार्कमा राजनीतिक दलहरुको पनि आकर्षण बढेको छ । लकडाउनको समयमा रासम समुहको पहलमा पार्क निर्माण सुरु भएसँगै राजनीतिक दल र संघ संस्थाले समेत चासो दिएका छन् । समदरमुकाम मन्थली नजिकै रहेको विटार पार्कलाई हरियाली बनाउने अभियानमा राजनीतिक दलले पनि साथ दिएका छन् ।

रामेछाप जिल्लाकै प्रमुख गन्तव्यको रुपमा विकास गर्ने उदेश्यको साथ सुरु भएको पार्क निर्माणको काममा सहयोग गर्ने प्रतिबद्धता पनि नेताहरुले जनाएका छन् ।  एक दिनको फरकमा नेपाली कांग्रेस रामेछाप र नेकपा रामेछापले विटार पार्कलाई हरियाली बनाउने उदेश्य सहित वृक्षरोपणको कार्यक्रम सम्पन्न गरेका छन् ।
३८ औं बीपी स्मृति दिवसको अबसर पारेर नेपाली काँग्रेस रामेछापले मंगलवार विटार पार्कमा बृक्षरोपण कार्यक्रम सम्पन्न गरेको भोली पल्ट अर्थात बुधवार नेकपा रामेछापले नेकपाका संस्थापक महासचिव पुष्पलालको  ४२औँ स्मृति दिवसको अवसरमा पनि विटार पार्कमा वृक्षरोपण कार्यक्रम गरेर मनाएको छ ।
रासम समुहको अगाडि बढाएको पार्क निर्माणको कामलाई थप उर्जा प्रदान गर्न विटार पार्कमा वृक्षरोपण कार्यक्रम आयोजना गरिएको नेपाली कांग्रेस रामेछापका सचिव लेख बहादुर कार्कीले बताउनुभयो । उहाँले भन्नुभयो,‘रासम समुहले गरेको काम निकै प्रशसनिय छ, हाम्रो साथ र सहयोग रहन्छ, यो पार्कलाई जिल्लाकै प्रमुख गन्तव्यको रुपमा विकास गरेर लैजानु पर्छ ।’
सचिव कार्कीका अनुसार पार्कभित्र आँप, लिची, कटहर, अमला, अशोक कागती लगायतका बिभिन्न प्रजातिका दुई सय भन्दा बढी विरुवा रोपिएको छ ।
नेकपा रामेछापका नेता प्रकाश कुमार कार्कीले विटार पार्कमा हरियाली प्रबद्र्धन गर्ने उदेश्यको साथ पुष्पलाल स्मृति दिवसमा वृक्षरोपण गरिएको बताउनुभयो । उहाँले भन्नुभयो,‘रासम समुहको सक्रियतमा जिल्लामा नमूना काम भएको छ, यो अभियानमा हाम्रो पार्टीको साथ र सहयोग रहन्छ, आवश्यक बजेटको लागि स्थानीय सरकार प्रदेश सरकार संघीय सरकारसँग बजेटको लागि पहल गछौं ।’

रामेछाप नगरपालिका वडा नम्बर ८ मा  रहेकाे विटार पाक रासम समुहकाे सक्रियतामा पार्क निर्माणको काम अगाडि बढेको हो । विटार पार्क संरक्षण समिति गठन गरेरै अहिले पार्क निर्माणको काम अगाडि बढेको छ । पार्कमा सरकारले हालै नेपालको भूमि लिम्पियाधुरा लिपुलेक र कालापानी समावेश गरेर जारी गरेको नयाँ नक्सा ढुंगामा कुदेर पार्कमा स्थापना गरिएको छ । रासम समुहले ढुंगामा कुदिएको यो नेपालको पहिलो नक्सा भएको दावी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्